काठमाडौं । बर्दघाट प्रज्ञाप्रतिष्ठानको आयोजनामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी–२०८१ परासीको बर्दघाटमा सम्पन्न भएको छ ।
यस सन्दर्भमा नेपाल तथा भारतका स्रष्टाहरूलाई चैत्र १६ र १७ गते बर्दघाट तथा छिमेकी पालिकाहरूका पर्यटकीय स्थलहरूको अवलोकन गराइएको थियो भने चैत्र १८ गते मात्र औपचारिक कार्यक्रम गरिएको थियो । यस क्रममा स्रष्टाहरूले बुद्धमङ्गल ताल, गजेन्द्रमोक्ष धाम, वनदेवी, कञ्चनगढी, रामग्राम स्तूप, सिमसार क्षेत्र, आम्बास, सहिद पार्क तथा शिवालयको अवलोकन गरेका थिए ।
कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका भक्ति शर्मा उपाध्याय, सीता शर्मा शीत, रूपा तामाङ तथा रत्न लक्सम सुब्बाले, दिल्ली तथा उत्तर प्रदेशका किशोर श्रीवास्तव, सविता सिंह शर्मा, दीपक गोस्वामी चिराग, प्रिया सिन्हा, ज्ञानप्रसाद उपाध्याय, नन्दलालमणि त्रिपाठी, अष्ठाना महेश प्रकाश, शीला वर्मा मीरा, अरुणकुमार श्रीवास्तव, दिनेश गोरखपुरी र अनामिका शर्माले पर्या कविता तथा गजल प्रस्तुत गरेका थिए ।
यसै गरी नेपालका शिव त्रिपाठी, डा. शङ्करप्रसाद गैरे, राजबाबु श्रेष्ठ सागर, शशी आचार्य, किसान प्रेमी, रमेशमोहन अधिकारी, यमुना न्यौपाने, लीला दाहाल, विश्वरञ्जन पौडेल, राजेशकुमार चौधरी, यज्ञप्रसाद न्यौपाने, गङ्गा पोखरेल, विनोद चौधरी, सुलभ अधिकारी आदिले पनि पर्या कविता तथा गजल प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा चार जना प्रस्तोताले पर्यावरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । यस क्रममा त्रिभुवन बरईले ‘पर्यावरणीय चिन्तन सिध्दान्त, प्रयोग र उपादेयता’, देवी पन्थीले ‘डिफरेन्ट पोल्युसन्स एन्ड देअर इफेक्ट्स अन इन्भाइरनमेन्ट’, हरेन्द्र शर्मा हर्ष तथा बिन्दुराज सापकोटाले ‘पर्यावरणीय प्रदूषणका कारण र समाधानका उपाय’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रोचकता थप्न लाली गुराँस आमा समूहद्वारा पर्यावरणसम्बन्धी भजन प्रस्तुत गरिएको थियो भने सामाजिक सचेतना कन्या समूहद्वारा थारू गीतमा झुमरा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी कार्यवाहक अध्यक्ष रचना चौधरी तथा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख आतिथ्य लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले गरेका थिए भने सभाध्यक्षता बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाले परिश्रमीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्