–आर सि पन्त–
केहि महिना अघि हाम्रो पारिवारिक साथिको घरमा पारिवारिक शोक पर्यो, घरको एक मध्यम उमेरका पुरुषको हृदयाघातले मृत्यु, उमेर चालिसको दशक । पछि थाहा भयो , उनको धेरै स्टक, डिजिटल सम्पत्ति र अन्य मूल्यवान चीजहरू रहेछन, तर परिवार अझै सम्मपनि पासवर्ड र कागजात खोज्दै छन् । यहॉं लाखौ डलर कसरी परिवारले पहुचमा ल्याउने भनेर यो घटनाको तयारी अभावले शोकलाई झन् कष्टकर बनायो ।
यो घटना सुनेपछि हाम्रो परिवारमा पनि मृत्यु भयो भने के गर्ने भन्ने बारे ठट्टै भए पनि कुरा भएको थियो – मैले मेरो श्रीमतिलाई एकदिन सुत्ने बेला ओच्छानमा पल्ट्टिदा भने यदि भोलि बिहान म उठिन भने मेरो कामको म्यानेजरलाई सम्पर्क गर्नू, कामबाट पाउने जीवन बीमा र अन्य लाभका लागि लाखौ डलर छ, उनले पनि हास्दै भनिन्- मलाई केही भए मेरो खातामा यति डलर छ है ! हाँसोमा भएको यो कुराले असहज सत्य देखायो, हामी प्राय: यस्ता कुराकानी गरिरहिन्छ, तर यस हाँसोमा लुकेको गम्भीरताले मलाई सोच्न बाध्य वनायो ।
म आफू, एनआरएनए कोलोराडो च्याप्टरको दुईवर्षे अध्यक्षका रूपमा काम गर्दै-गर्दा सात मृत्युलाई नजिकबाट देखेँ । यी प्रत्येक घटनाले मृत्युको अनिश्चितता र तयारीको कमि र महत्त्वपूर्ण कुरा सिकायो । शोकमा डुबेका परिवारसँग काम गर्दै-गर्दा मैले आफ्नो दैनिकी र प्रियजनसँगको संलग्नता कति छ त भनेर पुनर्विचार गरेँ । कोलोराडोको नेपाली समुदायमा देखिएका यस्ता घटनाहरू-जस्तै हृदयाघात, सडक दुर्घटना वा आत्महत्याले भएको मृत्युमा परिवारले सम्पत्ति र कागजातको पहुँच नपाउँदा थप पीडा भोगेका भेटे ।
केही घटनाको झलक:
केहि बर्ष पहिले बोल्डरमा भएको सडक दुर्घटनामा एक नेपालीको ज्यान गयो । उनकी श्रीमती र बच्चाहरूको आप्रवासन कागजात, बैंक खाता वा सम्पत्तिबारे परिवार एकदमै अनभिज्ञ थियो । नेपाली समुदायको सहयोगले परिवारको अमेरिका यात्रा र कानुनी सहयोग खर्च जुटायो, तरपनि तयारी नहुँदा र काग़ज़ात पहुच नहुदा परिवारलाई थप पीडा थपिएको थियो ।
एक मध्यम उमेरका नेपाली पुरुष होटेलमा मृत फेला परे, जब दिनौंसम्म ढोका नखुलेपछि प्रहरीले ढोका फोरी प्रवेश गर्यो र केहि दिन पहिल्यै मृत्यु भएको घोषणा गर्यो । उनको सम्पत्ति र इच्छापत्रको कुनै जानकारी नहुँदा कोलोराडो नेपाली समुदायले नेपालबाट परिवारको अनुमति लिएर शवको दाहसंस्कार यहि गर्यो । कागजात केहि नभेटिदा प्रक्रिया ढिला र जटिल बन्यो ।
एक नेपाली व्यापारी कामपछि आफ्नो पसलबाट घर फर्केनन् । परिवारले केहि घण्टामा उनलाई आफ्नै पसलमा गोली लागेर मृत अवस्थामा भेट्यो । व्यापार र बीमाको जानकारी सहज पहुच नहुँदा परिवारलाई थप पीडा थपिएको थियो ।
भर्जिनियाका एक युवा नेपाली, जो अमेरिकी सेनामा कार्यरत थिए, उनले कोलोराडोको हिमालहरूको भ्रमण क्रममा आफ्नै गाडि भित्र बसि आत्महत्या गरे । उनको परिवारलाई कामबाट पाउनुपर्ने सुविधा- लाभ, बीमा र अन्तिम इच्छापत्र बारे नहुँदा परिवारलाई थप पीडा थपिएको थियो ।
कोलोराडो नेपाली समुदायको एक सक्रिय देखिने एक समुदाय नेताको केही महिनामै आचानक मृत्यु भयो । नसोचेको घटना, र उनको आर्थिक र कानुनी व्यवस्थाबारे तयारी नहुँदा र काग़ज़ातको सहज पहुच नहुदा परिवारलाई थप पीडा थपिएको थियो ।
तथ्याङ्क र वास्तविकता – अमेरिकामा गरिएको केहि अध्ययनअनुसार, नेशनल फ्युनरल डाइरेक्टर्स एसोसिएसन (NFDA) को २०२१ को सर्वेक्षणमा केवल ३६% अमेरिकीले मात्र आफ्नो अन्त्येष्टिबारे परिवारसँग कुरा गरेका वा योजना लेखेका रहेछन् । त्यस्तै एथोस सर्वे (२०२२) अनुसार, ६८% ले मृत्युको तयारी महत्त्वपूर्ण ठानेका रहेछन् भने मात्र ४७% ले मृत्यु योजना गरेका छन् ।
मृत्युको योजना नहुँदा परिवारमा भावनात्मक र आर्थिक बोझ कति धेरै छ भने, उदाहरणका लागि, NFDA, २०२१ अनुसार अमेरिकामा एउटा औसत अन्त्येष्टिको खर्च $७,८४८ छ, र यो रकम परिवारले आफै तिर्नुपर्दा धेरै परिवारमा त आर्थिक संकट नै निम्तिन सक्छ । यदि बीमा वा सम्पत्तिको जानकारी छैन भने त अझै आफ्ना प्रियजनहरूले कागजी झमेला र कानुनी समस्याको सामना गर्नुपर्छ । मृत्युको तयारी नगर्दा परिवारले तत्काल खर्च जुटाउन, अन्त्येष्टिको व्यवस्था गर्न र कानुनी प्रक्रिया पूरा गर्न संघर्ष गर्नु परेको उदाहरण कति धेरै छन्, दैनिकजसो फेसबुकमा आउने चन्दा संकलनले पनि देखाउने गरेको छ ।
नेशनल इन्स्टिच्युट अफ हेल्थ (NIH) को अध्ययन अनुसार ७०% भन्दा बढी परिवारले मृत्युपछि आर्थिक र कागजी संकट भोग्ने गरेका छन् । उदाहरणका लागि, यदि परिवारलाई बैंक खाता, डिजिटल सम्पत्ति वा आप्रवासन कागजातको जानकारी नभएमा, परिवारले अझै थप समय र पैसा खर्च गर्नुपरेको भेटिन्छ । यो तथ्याङ्क र बिगतका घटनाहरू हेर्दा कोलोराडोको नेपाली समुदायमा अनौपचारिक अनुमानित ९०% परिवारले बीमा, ईच्छापत्र वा सम्पत्तिबारे छलफल गरेको भेटिदैन ।
अमेरिकामा ५० वर्ष पुगेका धेरैले आफ्नो हुलाक बाकसमा अन्त्येष्टि गृहहरूबाट चिठी पाउने गर्दछन् । टेलिभिजन र सामाजिक सञ्जालमा पनि मृत्युको योजना सम्बन्धी विज्ञापनहरू धेरै देखिन्छन्, विशेष गरी ५०-७० उमेर समूहलाई लक्षित गरी यस्ता विज्ञापनहरू बनाईएका हुन्छन् । सामाजिक सञ्जाल जस्तै फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा मृत्युको योजना र बीमासम्बन्धी विज्ञापनहरू देखिन्छन्, जुन प्रायः ५०+ उमेर समूहलाई लक्षित हुन्छन् ।
मेरो व्यक्तिगत अनुभवमा, मेरा बुवा-आमा र सासू-ससुरा, जो ७० को शुरुआती उमेरमा हुनुहुन्छ र हाम्रो ठेगाना एउटै भएकाले उहॉंहरूलाई सम्बोधन गरि आएका मृत्युको योजनासम्बन्धी धेरै चिठीहरू देख्ने गरेको छु । जसले मलाई सोच्न बाध्य बनायो- हामी मध्ये कतिले वास्तवमा मृत्युको योजना बनाएका छौँ होला त ? यो गर्नैपर्छ कि पर्दैन ? र हामी यो संसारबाट गएपछि परिवारमा कस्तो बोझ पर्छ होला ? यो सामान्य तर गहिरो प्रश्नले हामीलाई जीवनको अन्तिम चरणको तयारीतर्फ कत्तिको ध्यान दिन प्रेरित गर्छ होला !
किन महत्त्वपूर्ण छ ?
मानिस मात्रै यस्तो प्राणी हो, जसलाई आफूबाहेक सबैको मृत्यु हुन्छ भन्ने ठान्दछ । तर हामी मृत्युलाई अरूको कथाजस्तै ठान्छौँ । कोलोराडोको नेपाली समुदायमा भएका यी घटनाहरू चेतावनी हुन्, मृत्यु अप्रत्यासित भए पनि, यसको प्रभावलाई कम गर्न परिवारसँग खुला छलफल र सजिला कदमहरू आवश्यक छन् । मृत्युले खबर गर्दैन, तर आजको सानो प्रयासले भबिष्यमा तपाई नहुदापनि परिवारलाई असर कम गर्न सक्छ । हामीले मृत्यु अघि परिवारसँग छलफल गर्न सकिने निम्न उल्लेखित कुराहरू र केहि सजिला कदमहरूमा के-के गर्ने सकिन्छ त, जसले प्रियजनलाई शोकको समयमा अनावश्यक आईपर्ने झंझट र संकटबाट जोगाउँन सक्दछ ।
१. जीवन बीमा र लाभ: जीवन बीमा छ कि छैन, कसलाई सम्पर्क गर्ने भनेर परिवारसँग नियमित कुरा गर्नुस् । सबै कागजातहरू एउटा “मृत्यु फाइल” मा राख्नुस् र कहाँ छ भनेर प्रष्ट बताउनुस् । यो सानो कदमले शोक-संकटमा ठूलो सहजता दिनेछ, जसले गर्दा सहजै कामको बीमा वा व्यक्तिगत पोलिसीको लाभ लिन सजिलो हुन्छ ।
२. बैंक खाता र सम्पत्ति: बैंक खाता सम्बन्धित कागजात , घरको कागजात, स्टक वा व्यापारको कागजात विवरण साझा गर्नुस् । यो जानकारीले तपाई नहुदापनि तपाईको पैसा र सम्पत्ति हराउने जोखिम कम गर्छ र परिवारको आर्थिक आधार बलियो बनाउँछ ।
३. डिजिटल सम्पत्ति र पासवर्ड: अनलाइन खाता (जस्तै क्रिप्टो, इमेल, ईन्भेष्टमेन्ट) को पासवर्ड सुरक्षित गर्न पासवर्ड म्यानेजर प्रयोग गर्नुस् । परिवारलाई सहजै पहुँचको तरिका सिकाउनुस् । अहिलेको डिजिटल युगमा यो कदमले ठूलो सम्पत्ति जोगाउन मद्दत गर्छ ।
४. ईच्छापत्र र अन्तिम इच्छा: आफु जिवित छदै सम्पत्ति बाँडफाँड र दाहसंस्कारको इच्छा लेखेर राख्नुस् । कमसेकम पनि वर्षमा एकपटक यो विषयमा परिवारमा छलफल गर्नुस् । साधारण कागजातले पनि ठूलो कानुनी झमेला र आईपर्ने ठूलो परिवारको विवाद कम गर्न सक्छ ।
५. आप्रवासन र कानुनी कागजात: पासपोर्ट, भिसा वा अन्य कागजात कहाँ छन्, परिवारलाई बताउनुस् र व्यवस्थित राख्नुस् । खासगरी हामी जस्तो बिदेशमा आप्रवासी परिवारका लागि यो कदमले पछि आईपर्ने कानुनी प्रक्रिया र झंझटलाई सहज बनाउँछ ।
६. ऋण र दायित्व: घर, गाडी वा अन्य बाँकी ऋण वा आर्थिक दायित्वबारे जानकारी परिवारलाई दिनुस् । यो खुलापनले परिवारलाई तपाई नहुदा पनि आईपर्ने अप्रत्यासित आर्थिक बोझबाट जोगाउँछ र उनीहरूलाई सदैव तयार राख्दछ ।
७. स्वास्थ्यको जानकारी र बीमा: आफ्नो स्वास्थ्यको इतिहास र बीमाको कागजात विवरण साझा गर्नुस्, सहजै पहुचमा हुने गरि राख्नुहोस । जस्तै-सानो भएपनि जीवन बीमा पनि लिनुस् । यो कदमले स्वास्थ्य संकट वा मृत्युपछि परिवारलाई आर्थिक सहारा दिनेछ ।
८. आपतकालीन सम्पर्क: आफ्नो साथीभाई, वकिल वा केहि समुदायका नेताहरूको सम्पर्क सूची बनाउनुस् । ति मध्य केहि एउटा विश्वासपात्र छान्नुस् जसले तपाई नहुदा संकटमा परिवारलाई सहयोग गर्न सकोस् । यो सूचीले परिवारलाई शोकको घडिमा सहि दिशा र राहत दिनेछ ।
९. आर्थिक ज्ञान र व्यवस्थापन: परिवारलाई खाता चलाउने, बिल तिर्ने तरिका सिकाउनुस्, महत्त्वपूर्ण सामान (जस्तै गहना, कागजातहरू) चिन्ह लगाउनुस् । यो ज्ञानले उनीहरूलाई आत्मनिर्भर बनाउँछ । श्रीमान-श्रीमती बिचको आर्थिक कुराहरू नलुकाई भन्ने गर्नुहोस्, जिम्मेवारी बाडफाट गर्नुहोस, आत्मनिर्भर हुन प्रोत्साहन गर्नुहोस ।
१०. समुदायको सहारा: एनआरएनए संजाल वा अन्य कुनै पनि संघसंस्था वा स्थानीय समुदायको नेताहरूसँग जोडिन र परिवारलाई सम्पर्क गर्ने तरिकाहरू जानकारी दिनुस् । समुदायको सहयोगले आर्थिक, कानुनी र सांस्कृतिक प्रक्रियामा ठूलो सहजता दिनेछ ।
यी छलफल र कदमहरू आज साना लाग्न सक्छन्, तर भोली मृत्युको समयमा तपाईको अभावमा यिनले परिवारलाई ठूलो राहत दिनेछन् । कोलोराडोको नेपाली समुदायमा देखिएका घटनाहरूले प्रमाणित गर्छन् कि यदि तयारी भएको भए शोकलाई हल्का बनाउने थियो । आजको सानो प्रयासले भोलिको परिवारको पीडा कम हुन्छ, हामीलाई सानैदेखि मृत्यु जीवनको अपरिहार्य सत्य हो भन्ने सिकाईन्छ, तर यो विषय हामी सबैको परिवारभित्र कमै चर्चा हुन्छ, कुरो निस्किए पनि, छि-छि के बोलेको यस्तो भनेर टार्ने गरिन्छ ।
अचानक हुने हृदयाघातदेखि दु:खद दुर्घटनासम्म, यी घटनाहरूले एउटै कुरा दोहोर्याउँछन्: “के हुन्छ यदि म भइन भने ?” भन्ने प्रश्नको तयारी नहुँदा तपाई-हाम्रा प्रियजनहरू दु:खको समयमा पनि सम्पत्ति, कागजात र कानुनी जटिलताहरू सुल्झाउन बाध्य हुनेछन् । मृत्युको योजना बन्न सक्दैन, तर त्यसको प्रभाव घटाउन सकिन्छ । कोलोराडोको नेपाली समुदायमा धेरै परिवारहरूले शोकमा पनि अनावश्यक कष्ट भोगिरहेका छन् । आज कुरा गरेर र साना कदम चालेर हामी प्रियजनलाई शान्ति दिन सक्छौँ ।
आज मौन तोडौँ- किनकि मृत्युको तयारी भनेको प्रेमको पनि कदम हुनसक्दछ । मृत्युको योजना गर्नु भनेको परिवारप्रतिको जिम्मेवारी र परिवार प्रतिको प्रेम पनि हो । ५० वा ७० वर्षको उमेरमा घरमा आउने चिठी र विज्ञापनहरूले हामीलाई यो सम्झाउँछन् कि तयारी आजैबाट सुरु गर्नुपर्छ । हामीले आफ्नो मृत्युको कल्पना गर्न नचाहे पनि, यो योजनाले हाम्रा परिवारलाई शोकको समयमा शान्ति र सहजता दिनेछ । तपाईंले यो कुरा सोच्नुभएको छ कि छैन ? यदि छैन भने, अब सुरु गर्ने बेला भएको छ ।
(यो लेख केवल जानकारीको लागि हो र यसले कानुनी, स्वास्थ्य, बीमा वा वित्तीय सल्लाह प्रदान गर्दैन।)
-लेखक पन्त एक वरिष्ठ सरकारी लेखापाल हुन्, जसले सरकारी अनुदान र सरकारी कार्यक्रम लेखांकनमा १० वर्षभन्दा बढी अनुभव प्राप्त गरेका छन् । उनले न्यू मेक्सिको विश्वविद्यालयबाट एमबीए र कोलोराडो विश्वविद्यालयबाट लेखा र अर्थशास्त्रमा स्नातक डिग्री हासिल गरेका छन् । सन् २००६ देखि कोलोराडोमा बसोबास गर्दै आएका उनले सन् २०२१ देखि २०२३ सम्म एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षको रूपमा कोलोराडोको नेपाली समुदायमा सेवा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्