३ चैत्र २०८१, सोमबार

‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ सम्पन्न

कोलोराडोखबर संवाददाता , March 17th, 2025

नेपाल । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा भएको तीनदिने ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ को प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार समापन गर्नुभएको छ ।

सम्मिलनको अन्तिम दिन समाजमा घटेका विभिन्न घटनाक्रमलाई सञ्चार गर्ने क्रममा मिडियाले प्रयोग गरिरहेको भाषाका विषयमा परिसंवाद भएको छ । ‘सञ्चार माध्यममा नेपाली भाषा’ विषयमा भएको परिसंवादमा पत्रकार अखण्ड भण्डारीले पछिल्लो समय नेपाली मिडियाले नेपाली भाषालाई बिगारेर लेखिरहेको र भाषामा दक्षता आवश्यक पर्ने उल्लेख गर्दै मिडियामा काम गर्नेका लागि समय समयमा तालिम आयोजना गर्न सुझाव दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले भाषाले मनोविज्ञान र संस्कृति बनाउने भएकाले नेपाली समाजमा रहेका आदरार्थी शब्दलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । “मिडियामा अपराधीलाई तिमीकरण गर्ने र बाँकीलाई भाषाको गहनता अनुसार आदर दिँदै जानु पर्छ,” उहाँले भन्नुभयो, “मिडियाले दृष्टिकोण निर्माण गर्ने हो । समाजमा नकारात्मकता, अश्लील शब्द प्रयोग भइरहेको छ,” त्यसलाई कम गर्न मिडियामा तपाईं भन्नु पर्छ । साहित्यकार गीता त्रिपाठीले नेपाली भाषाको कुनै पनि शब्दले ध्वनिको प्रतीकचिह्न मात्रै नभई सांस्कृतिक महत्व बोकेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्का पूर्वसदस्य प्राडा हेमनाथ पौडेलले सञ्चार माध्यममा आदरार्थी शब्दको प्रयोग नहुँदा अमिल्दो हुन जाने बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मी मोहराज शर्माले सहजकर्ताको भूमिका गर्नुभएको थियो । यसै गरी ‘संस्कृति र समृद्धि’ परिसंवादको पनि आयोजना गरिएको थियो ।

यसअघि सम्मिलनको पहिलो दिन प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष ओलीले लेख्नुभएको कविता ‘मरे पनि केही छैन, सपना देख्न पाऊँ…’ को भावमा नाटक मञ्चन गरिएको थियो । प्रधानमन्त्री ओलीले उक्त कविता २०७५ असार ३१ गते चन्द्रागिरिको डाँडामा लेख्नुभएको थियो । वीरेन्द्र हमालसहित चार कलाकारको प्रस्तुति रहेको नाटकमा देशप्रेम, साहस, आशा, परिवर्तन र उत्साह भाव व्यक्त गरिएको थियो । सम्मिलनमा ‘साहित्यिक चलचित्र उत्सव’ तथा चलचित्रमा भाषा परिसंवाद विषय अन्तर्क्रियाका साथै कला उत्सव अन्तर्गत चित्रकला कार्यशाला र लोकबाजा प्रदर्शनी गरिएको थियो । सो क्रममा भारतको आसाम, दार्जिलिङ, मेघालय, सिक्किमलगायत क्षेत्रमा रहनुभएका नेपाली तथा नेपाली भाषीको सांस्कृतिक तथा गायन प्रस्तुति गरिएको थियो ।

सम्मिलनमा आसाममा कलाकारले ‘परदेशबाट फर्किआयौँ आफ्नै प्यारो माटो सम्झेर…,’ म्यान्मारमा सिर्जना गरिएको गीत तथा नृत्य ‘देउराली डाँडालाई काटेर गए पनि…’, सिक्किमको च्याब्रुङ नाच, मेघालयको कौडा नृत्य, मिथिला, नेवार सभ्यताका नृत्य, तामाङसेलो, देउडा, गन्धर्व धुनले सांस्कृतिक उत्सवलाई झनै आकर्षक बनाएको थियो ।

सम्मिलनमा काशी हिन्दु विश्वविद्यालयका आचार्य प्राडा दिवाकर प्रधानको प्रमुख आतिथ्यमा नेपालबाहिर नेपाली लोकसंस्कृतिबारे प्राज्ञिक विमर्श गरिएको थियो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ‘हिमवत्खण्डः महिमा र गौरव’ विषयक विद्वत् सभा र सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । सम्मिलनमा भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बस्ने नेपाली भाषीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्