१ चैत्र २०८१, शनिबार

कविताः हाम्रो उद्यमशीलता गफ भयो मौका मिले चाकरी

कोलोराडोखबर संवाददाता , March 15th, 2025

-धनराज गिरी-

हाम्रो उद्यमशीलता गफ भयो मौका मिले चाकरी
सारा भाट बने गने मनुजले चोरी निले काँकरी !
धोबी कर्म विशाल फैलिनगयो काट्ने कुरा सन्तको
चम्केका छवि मन्थरा शकुनिको आदर्शको अन्तको !!

आए धेर गफी कफी समुहमा वक् वक् बढी लोकमा
बोल्नेको अधिकार हेर चुलियो चर्चा भयो चोकमा !
माने दिक्क कठै बिचार सुनियो पीडा बढी आमको !
सत्तामा बदमासको रजगजी मान्छे विना कामको !!

विद्यावारिधिको कथा हरघडी सुन्दा लजायो धरा
प्रज्ञा टाट भयो अशुद्ध चुलियो हिज्जे गयो अन्तरा !
बिक्नेको महिमा अपार भवमा जान्ने बिके हाटमा !
व्यापारी बनियाँ छिरे कलममा साहित्य गो घाटमा !

आयो शोक अशोकको भगवती बैनी भवानी बुझी !
मौनी भो धनराज दूर वनमा वागीश आमा पुजी !
औतारी अवतार खीर गुलियो ताकी बसे पोखरा
ब्रह्मा बिष्णु महेश राम रहिमा पाकी पसे स्रग्धरा !

आयो कम्प अरे सरे रवि शशी पातालमा भोजमा
पाए खान उखान मान घरमा नेपालमा मोजमा !
ठेकेदारहरू छिरे नगरमा राजेन्द्र आऊ भनी !
होला के अवसाद वाद गुरुजी रामेन्द्र जाऊ गनी !!

चितवन, नेपाल ।

प्रतिक्रिया दिनुहोस्