१ चैत्र २०८१, शनिबार

लघुकथाः मोह

कोलोराडोखबर संवाददाता , March 15th, 2025

-आरसी रिजाल-
वडाध्यक्षले — लु दुईभाइको चित्तबुझ्दोगरि भागवण्डा गरियो।अब आमा पालैपालो दुबै छोराकोमा बस्ने त होला भने ।
***
हत्तपत्त जेठी बुहारीले — आमाबाबु हामिले शिर टेकाउने देवता झैँ हुन् ,भाग लगाउने बस्तु होइनन् । फेरि आमा नातिनातिनासँग रत्तिनु भएको छ । कान्छीका जाँदा एक्लिएर डिप्रेसन हुनबेरछैन् । त्यसैले केहिबर्ष हामिसँग बस्नुहुन्छ भनिन् ।
****
कान्छीलाई बुढी सासु लैजाने जाँगर थिएन । मनमनै खुसी भएर — आमालाई हामी जबर्जस्ती गर्दैनौं । उहाँको इच्छा अनुसार हुनेछ भनिन् ।
*****
छुट्टीएको अढाईबर्षपछी कान्छीको पहिलो बच्चा जन्म्यो । माइतीले तिनमहिना सुत्केरी स्याहारी घर फर्काइदिए । कान्छीले उबेला सासूलाई आफुसँग नराखेकोमा थकथक मानिरहेकि हुन्छिन् । यता जेठीले उनिहरु आमालाई भेट्न आउने संकेत पाइसकेकी हुन्छिन् ।
*****
कान्छाकान्छी सनिवार पारेर आमालाई अनुरोध गर्नपुगे । आमाले– मलाई यतै ठिक छ भन्नुभयो । कान्छीले — आमा तपाईको सेवागरेर पुण्य कमाउने कार्यबाट हामीलाई बन्चित नगर्नुस् भनिन् ।आमाले झर्केर — तिनबर्षसम्म पुण्य कता हराएको थियो भनिन् ।
*****
कान्छोले–म प्रष्ट कुरा राख्छु आमा। तपाईं यताबस्दा हाम्ले धरालीलाई मासिक रु २००००/- दिनुपर्छ, कान्छीले रु ३५०००/- को जागिर छोड्न पर्ने भो । अरु मसिना खर्च ५०००/-हुन्छ। तपाईं नहुँदा हाम्रो मासिक साठी हजार फजुल खर्च हुन्छ । मेरो तलबले घरखर्च धान्दैन । दाजुकोमा तिनबर्ष बस्दा लाखौं रकम जोगाइदिनुभो।आमाको लागि दुबैछोरा बराबर हुन । अब हाम्रो पनि जोगाइदिनुस् भने । आमाले खिन्न मन पारेर — म पैसठ्ठी कटेकी बुढीको चन्दन घोट्ने कुरा गर्छौ । मेरोभन्दा तिमीहरुलाई पैसाको मोह रहेछ।स्वार्थसँग गाँसिएको जिन्दगी म रुचाउन्न भनिन्…।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्