-आर. आर. चौलागाईं-
अब कुन दिन तिमीहरू
हामीलाई
सास फेर्न दिएका छौँ
बोल्न दिएका छौँ
भोट हाल्न दिएका छौँ
यो देशमा अहिलेसम्म बस्न दिएका छौँ
कविता लेखेबापत जेलमा हालेका छैनौँ
यातना दिएका छैनौँ
चुपचाप चुपचाप बस भन्न सक्छौ
अनि हामीले थपडी बजाएर यसैलाई
गणतन्त्र जिन्दावाद भनिरहनु पर्ने हो र ?
यसको मतलब राजतन्त्रलाई मैले राम्रो भनेको होइन ।
तिमी होनहार युवाहरूलाई विदेश जाने वाध्य पार्छौ
अनि उनीहरूले पठाएको रेमिट्यान्सबाट
तलब खान्छौ
भत्ता खान्छौ
गाडी चढ्छौ
पटक पटक सरकार फेर्छौ
झगडा गर्छौ
गाँड कोराकोर गर्छौ
केही भन्यो भने हामीलाई प्रतिगामीको मतियार भन्छौ
अनि हामीले थपडी बजाएर यसैलाई
गणतन्त्र जिन्दावाद भनिरहनु पर्ने हो र ?
यसको मतलब राजतन्त्रलाई मैले राम्रो भनेको होइन ।
तिमी कलकारखानाहरू कौडीको मोलमा बेच्छौ
नयाँ केही बनाउँदैनौ
अस्पताल बनाउँदैनौ
उद्योगधन्दा खोल्दैनौ
बरु भ्यु टावर बनाउँछौ
सुनको जलहरीमा नाम लेखाउँछौ
भाटभटेनीको उदघाटन गर्दै हिँड्छौ
र यसैलाई विकास भन्छौ
शिक्षालाई आत्मनिर्भर बनाउँदैनौ
बरु सधैँभरि विदेशीको मुख ताक्ने बनाउँछौ
कृषिलाई आधुनिकिकरण गर्दैनौ
बरु विदेशबाट अर्बौँको अन्नपात आयात गर्छौ
र यसैलाई सुशासन भन्छौ
अनि हामीले थपडी बजाएर यसैलाई
गणतन्त्र जिन्दावाद भनिरहनु पर्ने हो र ?
यसको मतलब राजतन्त्रलाई मैले राम्रो भनेको होइन ।
यदि कुनै दिन यो देशमा राजतन्त्र फर्क्यो भने
यसको दोषी न हामी हुन्छौँ
न जनता हुन्छन्
न छिमेकी देश हुन्छन्
न प्रतिपक्ष हुन्छन्
न राजतन्त्रवादी हुन्छन्
कान खोलेर ध्यानले सुन
यसको दोषी तिमीहरू नै हुन्छौ
यसको मतलब राजतन्त्रलाई मैले राम्रो भनेको होइन ।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्