नेपाल । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीव्र पारिएको छ ।
आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ।
एसपीसीसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फअघि बढेको छ ।
टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् ।
टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भर्याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ।
यसैबीच, सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ ।
दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झण्डै २० दिन लाग्ने अनुमान गरिएको छ। तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीलाई आरोहणको अनुमति दिइनेछ।
सगरमाथा क्षेत्रमा आरोहण मार्ग निर्माण तथा मर्मतका लागि एसपिसिसीले विदेशी आरोहीहरूबाट शुल्क लिँदै आएको छ। प्रत्येक विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने व्यवस्था छ । यो शुल्क मार्ग निर्माण, मर्मत तथा वातावरणीय सरसफाइका लागि प्रयोग गरिन्छ । एसपीसीसीले आरोहण अनुमति जाँच गर्नाका साथै आधार शिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने यी ‘आइसफल डाक्टर’हरूले जोखिम मोलेर हिउँको पुल बनाउने, आरोहीहरूको सुरक्षाका लागि मार्ग पहिल्याउने र अत्यधिक जोखिमपूर्ण क्षेत्रमा आधारभूत संरचना तयार गर्ने काम गर्छन् ।
प्रतिक्रिया दिनुहोस्