२८ फाल्गुन २०८१, बुधबार

एनआरएनएको ‘बृहत एकता संवाद’: व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न आग्रह

कोलोराडोखबर संवाददाता , March 12th, 2025

अमेरिका । गैर आवासीय नेपाली संघ (एआरएनए) को विभाजन रोक्न तथा थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि ‘बृहत एकता संवाद’ आयोजना गरिएको छ । नेपाल समय अनुसार मंगलबार साँझ ५ बजेदेखि करिब ४ घण्टा भर्चुअल माध्यमबाट उक्त संवाद आयोजना गरिएको हो ।

सो संवादमार्फत एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायतका अभियन्ताहरुले संस्थामा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गरे ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गरे । उनले सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे ।

पूर्व अध्यक्ष जीबा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिए । उनले गत हप्ता परराष्ट्र मन्त्री डा आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताउंदै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिन सुझाव दिए ।

पूर्वअध्यक्ष कुमार पन्तले विवेक नगुमाउन सबै साथीहरुलाई आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउंदै प्राविधिक कुरामा मात्रै नअल्झिन आग्रह गरे ।

पूर्वअध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउंदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे।

एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान आग्रह गरे ।

एनआरएनएका संस्थापक सदस्य रामप्रताप थापाले संस्थाको एकताको लागि आफुले विगतमा बलिदान गरेको समरण गर्दै संस्थाको हितलाई सर्वोपरी राख्न आग्रह गरे ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको बताए ।

संवादमा सहभागीहरुले उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे । उक्त कार्यक्रम महासचिव गौरी राज जोशी तथा सचिव राधिका गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्