– नातिबाबु भट्ट, हेम गिरी (कोलोराडो) । अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (जीबीसीसी) को गत महिना सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको छ ।
सन् २०१० मा कोलोराडोमा स्थापना भएको सो संस्थाको सन् २०१५ देखि नेतृत्व परिवर्तन भएको थिएन । पद हस्तान्तरण कार्यक्रमको संस्थाका उपाध्यक्ष भीम राईको स्वागत मन्तव्यसँगै शुरु भएको थियो भने कार्यक्रम संस्थाका सचिव मणी राईले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्थित संस्थाका शुभचिन्तक तथा सल्लाहकार केदार खतिवडा, किराँत कल्चरल सोसाइटी अफ कोलोराडोका अध्यक्ष सह सुब्बा, कोलोराडोको नेपाली भाषी भुटानी समुदायका अगुवा भुवानी न्यौपाने र श्याम खनाल लगायतले संस्थाको नवगठित कार्य समितिलाई शुभकामना साथै निवर्तमान कार्य समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो संस्थाले विशेष गरी कोलोराडोमा बसोवास गर्दै आएका नेपाली भाषी भुटानीलाई नेपाली भाषा, साहित्य, संगीत, संस्कार संस्कृति रीतिरिवाजलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । नेपाली कला संस्कृति, हाम्रा चाडपर्व, नेपाली भाषा अनि हाम्रो समुदायको पहिचान हो । यसलाई जोगाइ प्रवर्धन गर्दै भावी पुस्तालाई सिकाई उनीहरुलाई हाम्रो संस्कार संस्कृति हस्तान्तरण गर्ने कार्य योजना रहेका नव गठित कार्य समितिका अध्यक्ष चुडा बरालले बताए ।
साथै बरालले समुदायका सबैको यस संस्थालाई साथ सहयोग प्राप्त भए बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा अनि विधार्थी र युवा जमातलाई लक्षित गरेर विभिन्न खेलकुद, शिक्षा सम्बन्धी गोष्ठी साथै अन्य सामाजिक र सांगीतिक कार्यक्रम संचालन गर्ने संस्थाको कार्य आयोजना रहेको जानकारी गराए ।
कार्यक्रममा कोलोराडोमा रहेका अन्य संघ संस्थाहरुको प्रतिनिधिहरु र संस्थाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम निवर्तमान अध्यक्ष सोम बरालको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति सोम बरालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सबैको साथ र सहयोगले नै संस्था यहाँसम्म आईपुगेकोले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागी सबै संग अनुरोध गरेका थिए ।
गत महिनामात्रै जीबीसीसीका निर्वतामन अध्यक्ष सोम बराल, संस्थाका संस्थापक सदस्यहरु गंगा कोइराला, केदार खतिवडा र उमेश घिमिरे लगायतको करिब २० जनाको सहभागितामा एक भेलाले चुडा बरालको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सो भेलाले नयाँ कार्य समितिको उपाध्यक्षमा भीम राई, सचिवमा मणी राई, कोषाध्यक्षमा पूर्ण शिवकोटी, खेलकुद संयोजकमा ओम ढुङ्गेल, संस्कृति संयोजकमा विर्ख गुरुङ, शिक्षा संयोजकमा दुर्गा निरौला र प्रेस संयोजकमा हेम गिरीलाई चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्