–लक्ष्मण आचार्य–
मनमा डल्लै छन्
चल्ती, बचत र मुद्दती
खाताजस्ता यादहरू
टाँगिएका छन् मनहरू
तहतह गरेर
खप्ट्याइएको छ
भूत, वर्तमान र भविष्य
कतै कुनामा
टाँगिएको छ
पुरानो स्लिपिङ व्यागको गुजुल्टो
ब्रिट्रिस आर्मीमा छँदाको
भुपु कमव्याक ड्रेस
ओभरकोट, ह्याट र
धुर्मैलो पायट
परमानेन्ट भिसामा
एकाएक विदेशिए
सन्तान दरसन्तानसहित
बाहरू, काकाहरू
पेन्सन पट्टाको रवाफमा
जिउँछन् केवल जिउँछन् मात्र
काकीहरू फुपूहरू
एउटा डल्लै जिन्दगी
गुलामीमा बितिदिएछ
एउटा डल्लै भोगाई
अरूकै निम्ति बाँचिएछ
लहडलहडमै आउन त
यता बेलायत आइयो ता नि
न भाषा
न भेष
न शान्ति
न सुख
न यताको हुन सकियो
न उताको नै भइयो
अँ त अस्ति फूपूफुपाजु
भन्दै हुनुहुन्थ्यो
साँच्चै !अचेल धरान
धरानजस्तो छैन
धरानको परान परानजस्तो छैन
बाँकी छन् ,
मात्र बाँकी छन्
तहतह गरेर सजिएका
चल्ती, बचत र मुद्दती खाताजस्ता यादहरू !
चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्