६ बैशाख २०८२, शनिबार

लघुकथाः नजिर

कोलोराडोखबर संवाददाता , March 8th, 2025

-आरसी रिजाल-
कतिदिन यिनहरुको टर्वो वचन खप्नु । भोलि “जे पर्ला सोही टर्ला, खाउन बाक्लो दाल ” भनेर रामलालले आफ्नो जेथा तीन भाग लगाए । साह्रोगाह्रोमा बाबुआमाको रेखदेख नगरे छिमेकीको भनाइ सुन्नुपर्ला ठानेर एकबर्षमै आफ्नो नामको जग्गा बेचेर छोराहरू सहरतिर घर जोड्न लागे ।

केही बर्षपछी विभिन्न रोगले बुढाबुढीलाई गाज्दै ल्यायो । बृद्धभत्ताले औषधिमुलो गर्न नभ्याउने भएपछि छिमेकीको सल्लाह अनुसार नियमित औषधि खर्च छोराहरूले व्यहोर्नु पर्‍यो भन्न पुगे । दुबै छोराले आफ्नो जिउनी बेचेर समस्या टार्न सल्लाह दिए । बुढाले — घडेरी बाहेक अरु जमिन रोगले खाइसक्यो ।त्यसैले तिमरुसँग हात फैलाउन परेको भने । तर चमडी जाला दमडी नजाला भन्ने खालका छोराहरू टकटकिए ।अमिलो मन बोकेर बुढाबुढी फर्किए ।

मर्ता क्या नकर्ता भनेझैं बाबुआमाले छोराबाट अंशपाउ भनी अनौठो मुद्दाहाले । यो मुद्दाको फैसला सुन्न बिशेषत पाकाहरु उत्सुक थिए । छोराहरूले घरघडेरी श्रीमतिको दाइजो भनेर जिकिर गरे तापनि न्यायाधीशले- छुट्टिएर बसेपनि बाबुआमाप्रति छोराको नाता कायमै रहने र त्यसमाथी उहाँहरुको नाजुक स्थितिलाई मध्यनजर राख्दै दुबै छोराले आआफ्नो मासिक तलवको २५% रकम पिताको खातामा जम्मा गरेर सोको जानकारी वडालाई समेत दिनुपर्ने निर्णय सुनाए । अदालतको यस्तो निर्णयले पीडित पाकाहरु– हाम्रालागि यो “नजिर” बन्यो भनेर गदगद भएका छन् रे….!

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्