३० चैत्र २०८१, शनिबार

चैत १९ देखि त्रिभुवन विमानस्थल रातको समयमा पनि बन्द नहुने

कोलोराडोखबर संवाददाता , March 7th, 2025

नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ चैतदेखि रातको समयमा पनि बन्द नहुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको हो ।

धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम सुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार हाल विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ ।

गत २३ कात्तिकदेखि माघ १८ गतेसम्म दैनिक १० घण्टा बन्द भएको विमानस्थल माघ १९ देखि थप दुई घण्टा सञ्चालनमा ल्याएर हाल दैनिक आठ घण्टा बन्द हुँदै आएको थियो ।

प्राधिकरणका अनुसार राति १२ बजेसम्म विमानस्थल सञ्चालनमा आउने भएपछि भारतीय वायुसेवा कम्पनी स्पाइस जेट र एयर इयर इन्डिया एक्सप्रेसले पुनः उडान गर्ने भएका छन् ।

विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सहज हुनुका साथै हवाई ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्