–दीपक गौतम–
(१)
थरीथरी मान्छेसँग परिचय गर्नैपर्छ
खलपात्र जोसुकै होस् विजय गर्नैपर्छ
रङ्गमञ्च हो जिन्दगी यो कलाकार हामी मान्छे
पर्दा खस्नुअघिसम्म अभिनय गर्नैपर्छ ।
(२)
खोलामा गई माछा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
जङ्गलमा गई चरा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
सायद यस्तो भन्ने दिन पनि अब टाढा छैन
गर्भमा जीवित बच्चा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
(३)
भोकै बस्छन् हाडमासुका आगो जोर्नेहरू
नाङ्गै बस्छन् अजङ्गका पहाड फोर्नेहरू
अरबौँका भ्रष्टहरू सानले बाँचिरहँदा
सुली चढ्छन् आज यहाँ चप्पल चोर्नेहरू ।
(४)
यसरी कमाएको छ त्यसरी कमाएको छ
मान्छेले सम्पत्ति जसरी कमाएको छ
महलको उचाइमात्र नाप्ने यो समाजले
खोज्दैन किन कसरी कमाएको छ ?
(५)
सकेसम्म लुटौँ आज भोलि देखाजाला
महाभोजमा जुटौँ आज भोलि देखाजाला
यसो भन्छन् डाडुपन्युँ बोकी भण्डार छिर्नेहरू
सिध्याएरै छुटौँ आज भोलि देखाजाला ।
– मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्