नेपाल (हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औँ वार्षिकोत्सव तथा ३ सय १३ औँ साहित्य श्रृङ्खला शनिबार सम्पन्न भएको छ ।
बकैया गाउँपालिका ५ कर्मचुलीस्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा भएको बकैया कला साहित्य महोत्सवमा शनिबार विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै समकालीन गजल मुक्तक उत्सव, बकैया काव्य महक, समकालीन काव्य उत्सवलगायतका कार्यक्रमहरु भएका थिए ।
सो अवसरमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको नगद रू. २१ हजार १ सय २१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान भैरहवाका स्रष्टा प्राडा कपिल लामिछानेलाई प्रदान गरिएको छ ।
त्यस्तै साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापना गर्नुभएको नगद रू. १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१ इलामका शिव अधिकारीलाई प्रदान गर्ने उक्त पुरस्कार चैतको चौँथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापना गर्नुभएको पुरस्कार नगद रू. १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका मुक्तककार देवराज खरेललाई प्रदान गरिएको छ ।
साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापना गरेको नगद रू ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिएको छ ।
यसैगरी साहित्यसेवी राजन दङ्गालले आफ्नो दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद रू। ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ गजलकार बबी थापालाई प्रदान गरिएको छ ।
साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित नगद रु। ७ हजार ७ सय ७७ सहितको सञ्जीवनी बुटि साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिएको छ ।
मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत प्रदान गरिने स्व. गोकर्ण गौतमको परिवारले स्थापना गरेको नगद रु. ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका निगरानी अनलाइनमा कार्यरत पत्रकार ज्योति न्यौपानेलाई प्रदान गरिएको छ ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका रु ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ पुरस्कार सन्तोष विकलाई प्रदान गरिएको छ ।
झरना साहित्यिक परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शुरु
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापित नगद रु। ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ गरेको पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिएको छ ।
जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको नगद रु ७ हजार ७ सय ७७ राशिसहित ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिएको छ ।
बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक सम्मान –२०८१ बुद्ध माविका हरी घिमिरे प्रदान गरिएको छ ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेले स्रस्टाहरूलाई देसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
यसैबिच झरना साहित्यिक पत्रिकाको ४२ औँ अङ्कको प्रमुख अतिथि लामिछानेले विमोचन गर्नुभयो ।
कार्यक्रमकै बिच भएको समकालीन गजल मुक्तक उत्सवमा मकवानपुरका साहित्यकार मिथिला अधिकारी, कमल नेपाल, रमेश बिंडारी, सिन्धुलीकी मैया लमछिाने, आछामका हिक्मत रावल, कालीकोटका ध्रुव सञ्जेललगायतले रचना वाचन गर्नुभएको थियो ।
यसैगरी समकालीन काव्य उत्सवमा राजकुमार लामिछाने, रामकुमार एलन, बैकुण्ठ लामिछाने, सुवास सजललगायतले रचना वाचन गर्नुभयो । सोही अवसरमा चित्रकला प्रदर्शनीसमेत आयोजना गरिएको थियो ।
२०७६ सालबाट सुरु भएको महोत्सवको यो छैठौँ श्रृङ्खला हो। झरना साहित्यिक परिवार मकवानपुरले अहिलेसम्म पाँचवटा बकैया कला साहित्य महोत्सव, ३१२ वटा साहित्य शृङ्खला, ४३ औँ झरना साहित्यिक अर्धवार्षिक पत्रिका प्रकाशन, ८० वटा भन्दा बढि बिध्यालयहरूमा काव्य प्रशिक्षण, १०० भन्दा बढी मूर्धन्य साहित्यकारहरूलाई सम्मानित गरिसकेको अध्यक्ष विश्वनाथ सञ्जेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्