७ बैशाख २०८२, आईतवार

लघुकथा: यस्तो पनि हुन्छ ?

कोलोराडोखबर संवाददाता , February 27th, 2025

-धनराज गिरी-
— ” यार सुखौरीकान्त अयोध्या,तिमी यहाँ ?” वीरेन्द्र कलेज भरतपुरमा सात बर्षअघि बिछोड भएको रुमपार्टनर देखेर, लाहानराज सिन्धुलीय,यी दुई अङ्ग्रेजी र नेपालीका उपप्राधापक, उही आयोगबाट सफल,यसपालि। ” आहा,यार मज्जा आयो,तिमी पनि?” ” हो त, म पनि,प्रेमसागर साथीले मिलाए,आइयो। ” सुखौरी अतरियाको, सिन्धुलीय सिराहाको। क्वाटर पाए। छिमेकी बने। एक्लै,एक्लै। एक महिना बित्यो। दुई मित्र नै पहिला अति रमाइला,तर यतिखेर भित्र भित्र केहीले सताएजस्तो।

विदा आज,शनिवार। सौराहा गए। हल्का पिए। रापतीको किनारमा। ” हामीले आपसमा केही लुकाएजस्तो लाग्यो यार!” सुखौरी। लागेछ। ” केही छ र तिमीसित त्यस्तो ?” लाहानराज। ” भनेर के हुन्छ? ” उसको मनले सोच्यो। एक बोतल बियर थपे। ” यार,बिहे भएन र?” सुखौरी। उदास ऊ पनि। अनि किस्सा सुनायो सिन्धुलीयले। ” यार,मेरी एक प्रेमिका थिई,बाअमाले अर्कै खोजेका, मैले भन्न भ्याइन। जबर्जस्ती बिहे भयो। तर …. ! ” लाहानराज। ” तर … के भयो यार?किन रोकियौ?” सुखौरी।

” उनी,मेरी दुलही पनि उदास,उदास,म उस्तै। यान्त्रिक नाता। तन मात्र नजीक,मन दूर। माइत उनी,म आयोगतिर। ” लाहानराज ।

” मेरो पनि उही कथा यार,मेरी पनि एक फेसबुके प्रेमिका,मिलन हुनै पाएन। उही आमाबाको तानाशाही !” सुखौरी। ” अब के गर्ने?” लाहानराज। ” ह्या, उही,जे अचेल हुनेगरेको छ। ” सुखौरी। बियरले छोएछ, बेखौफ भयो। सल्लाह मिल्यो।

दुबैले उही गरे, जुन ३७५०० जोडीले नेपालमा गरेका थिए। सुखौरीको सरुवा भयो,धनगढी । छ महिनामा दुबैको बिहे भयो,दोस्रो। लाहानराजको पनि पोखरा सरुवा भयो। अचम्म, सुखौरी र लाहानराज फेसबुकमा साथी नभएका।

तीन बर्षपछि, एक एक सन्तानसहित दुई मित्र पुगे जङ्गल सफारी लज सौराहामा। पत्नीहरू आफ्नो,आफ्नो कोठामा। उनीहरूको भेट,अचानक । ” आम्मै यार,अचम्म भयो। ” सुखौरी। ” तिमी पनि एक्लै त होइन नि?” लाहानराज। ” तिमी पनि होइन होला? ” सुखौरी। ” लौ,आज त पारिवारिक मिलन हुनुपर्छ !”

छ जना सामुन्नेमा। एक्लै,एक्लै,चार जनाको सातो गयो,किन कि यहाँको दृश्य हेर्नलायक, फिल्मी, पत्नीहरू विनिमय भएका,बोल्न सकेनन्! मज्जाले अभिनय गरे। परिचय गरे,नचिने जसरी। जङ्गल सफारीमा गए। तस्वीर लिएनन् । ” कस्तो लाग्यो त यार भाउजू?” सुखौरी। ” मधुबाला!” लाहानराज। तर उसले सोधेन। नानीहरू मौन। आइमाई गफ। रहस्य,रहस्य नै रह्यो। सेल्फी पनि लिएनन् । चारजनाकै मनमा उही प्रश्न,” यस्तो पनि हुन्छ?”

-चितवन, नेपाल ।

प्रतिक्रिया दिनुहोस्