–सुदीपभद्र खनाल–
मान्छेको मनको प्यास सिद्दिने कहिले छ र
अनादिबाट यस्तै छ मान्छे प्यासी निरन्तर
प्यासकै तृप्तिका लागि होड हो यो विकाशको
गतिमा हिँड्न चाहन्छ मान्छे आफैँ प्रकाशको
मान्छेलाई मिटाएर हिँट्छ मान्छे परे बरू
परन्तु बढ्न छाड्दैन काटेर विघ्नका तरु
धरती पुत्र आफैँ नै गर्छ दोहन यो धरा
मान्छेको क्रूरता खेपी घाइते छन् वसुन्धरा
लिने हो प्रकृतिबाट त्यत्ति नै परिमाणमा
जतिले जीवको प्राण धानिन्छ त्यत्ति सारमा
परन्तु अति गर्दैछ प्रकृतिसँग मानिस
क्रूरताको पराकाष्ठा मात्रै देखिन्छ सादृश
सिर्जनाले उठोस् मान्छे उपायबाट प्राकृत
स्वार्थको साधना निम्ति नहोस् खेल अवाञ्छित
मान्छे तादात्म्यता राखोस् लय प्रकृतिको सँग
रक्तको भेलमा खुल्ने सुकोस् दानवता रङ
मान्छेको सपना हैन धरती क्षतविक्षत
मान्छेको जपना हैन मुटु भित्र दिने खत
दया प्रेम र आशाको ज्योतिको सपना लिए
हुथ्यो मानिसले आफ्नै थैलो त्यो लोभको सिए ।
–अमेरिका ।
प्रतिक्रिया दिनुहोस्