२८ फाल्गुन २०८१, बुधबार

बालकविताः माकुराको जालो

कोलोराडोखबर संवाददाता , February 15th, 2025

–रमेशचन्द्र घिमिरे–
हिजो पुछेको हो लगाएर टालो
आज फेरि आयो माकुराको जालो

ढुक्कै थिएँ म त कोठा थियो रित्तो
भरिएछ आज पुरै घरको भित्तो
ठाउँ बाँकी छैन डोको अनि डालो
कतिखेर बन्यो माकुराको जालो

टाले पनि दुलो कताबाट छिर्छ
सधैँ हैरान पार्छ सधैं सधैं पिर्छ
चुक्कुल सुक्कुल ठोकी लगाए…नि तालो
फेरि देखा पर्‍यो माकुराको जालो

जालमा पारी यसले आफूतिर तान्छ
बसी बसी सधैँ कीरा मार्छ खान्छ
किन होला यसको पेट यति कालो
देख्दै दिक्क लाग्ने माकुराको जालो

अघाउँदैन कैल्यै खाए पनि जति
खन्चुवा छ साह्रै लोभी कति कति
रिस उठेपछि अनि मेरो पालो
कुचो लगाई फालेँ माकुराको जालो ।

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्