–सुवास खनाल–
चोकचोकमा
टाँगिएको छ– विक्रय मूल्य
– इमानहरूको
लगाइएको छ प्राइस ट्याग
माटोमा
बाटोमा
पानीमा
जवानीमा
विवश भएर
वा रहरवश बेचेर सन्तानहरूलाई परदेश
बुवाआमा
कङ्क्रिट सपना हुर्काइरहेछन् सोचमा
देश उत्पादनको कुनै खबर पढ्दैन
कि अङ्कन गरिरहेछ रेमिट्यान्स ?
कि लिलामीमा राखिरहेछ नागरिकता ?
अझै सुरु गरेको छ नयाँ धन्धा
‘मान्छे बेचविखन परियोजना’
चर्चा सबैतिर छ
–बिक्रय मूल्यको
बिक्रीमा छ
विवेक
सोच
नियत
लिलाम बढाबढ भइरहेछ– राष्ट्रियताको
हामीलाई अल्झिन थुप्रै विषय छन्
जस्तो कि
बुद्ध नेपालमा जन्मिए
सीता नेपाली छोरी हुन्
सगरमाथा संसारकै अग्लो शिखर हो
र यसको उचाइ ८८४८ मिटर छ
आँखैअघि वा आँखाको पछिल्तिर
तराजु चढिरहेछ न्याय
पक्ष वा प्रतिपक्ष स्थापनार्थ
मोलमोलाइमा उत्रेको छ सत्ता
आँखाले होइन चस्माले देख्न थालेपछि
चेतनामा पुँजीवादको ऐँजेरु पलाएपछि
मानिस क्रय– बिक्रयलाई अन्तिम सत्य सम्झिने भएको छ
आजकाल
कसैले आफ्नै अघि उभिएर
सोध्छन् कि झैँ
लाग्न थालेको छ–
‘तिम्रो बिक्रय मूल्य कति हो ?’
–मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्