७ बैशाख २०८२, आईतवार

कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान प्रदान

कोलोराडोखबर संवाददाता , February 9th, 2025

नेपाल । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कविद्वय कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले स्वर्गीय अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर शनिबार उहाँहरुलाई नगद ५० हजार रुपियाँसहितको सम्मान अर्पण गरेको हो ।

कवि धरावासी र स्वप्निललाई कार्यक्रमका प्रमुख अतिथि संंविधान सभा सदस्य तथा कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बेले नगद पुरस्कारसहित कदर पत्र प्रदान गर्नुभयो ।

प्रतिष्ठानले सोही कार्यक्रममा गत भदौ १३ गते पाँचथरको प्राङवुङमा भएको बम विष्फोटमा ज्यान गुमाएका प्रिन्सा र दिप्सन साँवाकी आमा पुजा सावाँलाई २० हजार, जिल्लामा सक्रिय सामाजिक संस्था हाम्रो सहारा पाँचथरलाई नगद ५० हजार र असोज महिनामा जिल्लाको फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा गएको बाढी पहिरोमा ज्यान गुमाएका प्रभावित १५ परिवारलाई जनही १० हजारका दरले राहत उपलब्ध गराएको छ ।

लेखक, कवि तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्वाङको २०७६ माघ २६ गते निधन भएको थियो । त्यसपछि उहाँको परिवारका सदस्यले गठन गरेको अमर नेम्वाङ स्मृति प्रतिष्ठानले प्रत्येक वर्षको माघ २६ गते सम्मान, पुरस्कार र छात्रवृत्तिसहित राहत वितरण गर्दै आएको छ ।

उक्त पुरस्कार यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा।गोविन्दराज भट्टराई, वीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, विमला तुम्खेवा र गिरीराज बाँस्कोटालाई प्रदान गरिसकिएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्