–सुदीपभद्र खनाल-
जस्तो यो सुख दुःख दृष्य नहुने सादृश्यता लुप्तछ
मात्रै जीवन भोगका समझले सम्पूर्ण सादृश्य छ
जस्तो विम्बित सृष्टि विम्ब रचनामा अर्ध नारीश्वर
उस्तै आकृतिमा छ लुप्त मनमा सादृश्य छन् ईश्वर ।
भेटिन्नन् जब चन्द्रमा नजरले छर्लङ्ग देखेपनि
धर्तीमै नजिकै हुने स्थलहरू देखिन्न चाहे पनि
जो देखिन्न असत्य हुन्न न सँधै देखिन्छ जो सत्य छ
सत्यासत्य विवेच्य सार प्रणवी सत्चित्तमा दृष्य छ ।
पानी भित्र छ अग्नि यो गगनमा बेगिन्ति ब्रम्हाण्ड छन्
सोच्दै चक्कर लाग्छ धीर छ भने श्री सत्चिदानन्द छन्
यो सारा चल बीचमा अचलको अन्वेष दुःसाध्य छ
चित्तस्थिर गरेर हेर मनमै आलोक आलोक्य छ ।
खोजी प्राप्त हुने सिधै र सजिलै छैनन् खजाना कुनै
आफैँमा नभए सुदृष्टि जति होस् देखिन्न ज्योस्ना कुनै
चर्मैचक्षु नहुन् तथापि मनले स्थित् प्रज्ञले देख्दछ
आफैँभित्र उघार द्वार मनमै ॐकार को बास छ ।
जम्मै सुन्दर लाग्छ मात्र मनको हेराइ हो सुन्दर
यी इन्द्रीय जितेर दाउन सके संसार यो के छ ररु
सच्चा कर्म र ज्ञानको पकडमा भूभार आधार छ
आफैँभित्र पसेर हेर मनमा सम्पूर्णको सार छ ।
–अमेरिका ।
प्रतिक्रिया दिनुहोस्