–लालगोपाल सुवेदी–
सड़क सबै किन छन् बिमारझैँ
पथिकहरू किन छन् हतारझैँ
कति कति चालक छन् कुचालमा
कति जन छन् जनकै कुजालमा ।
।१।
गजपथमा गज नै हिँडून् डुलून्
र सडकमा जन यानमै कुदून्
पथ-पथमा सब पाइला पुगून्
नव(नव मंगल-चन्द्रमा चुमून् ।
।२।
विकसित देशहरू कहाँ पुगे ?
ग्रह-ग्रह टेक्न भनी झनै कुदे
नभ-नभको नव ज्ञानमा फुके
नव-नव जेट-रकेटमा उठे ।
।४।
सडक छ हेर यता धुलेमुले
मनुज उता नव ज्ञानमा खुले
अझ पनि मर्दछ को अकालमा ?
अझ पनि चालककै कुचालमा ।
।४।
गज–पथमा मुखिया रहे सयौँ
जन–जन नै कणझैँ सबै भयौँ
नर नरले किचियौँ सधैँ–सधैँ
उर–उरमै गज–पाइला अझै ।
।५।
सड़क बनून् सय अर्थका कला
सड़क बनून् जन-गीतका गला
सड़क धरा भुइँ मात्र हो कहाँ ?
मन- मनमा पथ होस् जहाँ तहाँ ।
।६।
सड़क भनूँ अथवा सुमार्ग नै
म हिँडिरहूँ पथमा शनै शनै
म किरणझैँ जगमा हिडूँ डुलूँ
म कमलको रथमा सधैँ झुलूँ ।
।७।
सड़क त विम्ब न हो, प्रतीक हो
यति, गतिमा कविता हुने मिठो
जगजग भाषिक मार्ग यो बनोस्
कवि कवि होस् ,कविता हदै जमोस् ।
।८।
कवि पनि चालक हो सुमार्गको
सडक बनाउन सक्छ देशमा
मलिन भयो किन सभ्यता यहाँ
कवि नभए जग उठ्छ खै कहाँ ?
–बोस्टन , अमेरिका ।
प्रतिक्रिया दिनुहोस्