२८ फाल्गुन २०८१, बुधबार

आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक महोत्सव सम्पन्न, गीतकार नीर शाह सम्मानित

कोलोराडोखबर संवाददाता , February 6th, 2025

अमेरिका । प्रवासमा रहेका नेपाली भाषामा गीत रचना गर्ने र गरिरहेका गीतकारहरुलाई एकताबद्ध गर्दै गीत संगीतको माध्यमबाट नेपाली भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन र बिकास गर्ने उद्देश्यका साथ स्थापित आप्रवासी नेपाली गीतकार संघ (आईएनएलए) अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सबर्गमा भव्य रूपमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष समेत रहेका गीतकार हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक समारोहमा नेपालबाट आउनुभएका बरिष्ठ चलचित्र कलाकार एवं विशिष्ट गीतकार नीर शाहको प्रमुख आतिथ्यता रहेको थियो । समारोहको विशिष्ट अतिथिका रुपमा संस्थाका संरक्षक समेत रहनुभएका कोलोराडो निवासी लोकप्रिय गीतकार ज्ञानेन्द्र गदाल, नेपालबाट आउनुभएका वरिष्ठ गीतकार भुषण खरेल, समाजसेवीहरु डा. दामोदर पौडेल, मुकेश सिंह, बरिष्ठ साहित्यकार गंगाराम लामिटारे आदिको उपस्थिति थियो ।

उक्त समारोहमा अमेरिकाको बिभिन्न राज्यमा बसोवास गर्ने नेपालीभाषी साहित्यकार एवं संगीतकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने संस्थाको निमन्त्रणामा नेपालबाट आउनुभएका बरिष्ठ चलचित्रकर्मी एबम विशिष्ट गीतकार नीर शाह र लोकप्रिय गीतकार भुषण खरेलको विशेष उपस्थितिले कार्यक्रमको गरिमा उच्च बनाएको थियो ।

आईएनएलएको प्रथम वार्षिक उत्सवको रुपमा आयोजित उक्त समारोहमा माता सरस्वतिको पूजा अर्चना सहित विभिन्न सांस्कृतिक कार्यक्रम र साहित्यिक रचनाको बेजोड प्रस्तुति रहेको थियो । स्थानीय कलाकार भाईबैनीहरुको नाच, नयॅा पुराना कलाकारहरुद्वारा गायन, नयाँ कृतिहरुको लोकार्पण, सहित आईएनएलएको प्रथम प्रकाशनको रुपमा प्रकाशित अमेरिकाभित्रका गीतकारहरुको संयुक्त गीत संग्रह ‘नेपाली मूलः प्रीतिको फूल’ को पनि बिमोचन गरिएको थियो । यसका साथै कलाकारहरुलाई प्रशंसापत्र, सुयोग्य प्रतिभाहरुलाई सम्मानपत्र र कार्यक्रममा हरतरहले सहयोग पुर्याउनेहरुलाई धन्यवादसहित मायाको चिनो प्रदान समेत गरिएको थियो ।

आईएनएलए–ज्ञानेन्द्र गदाल गीतसम्मानूद्वारा विशिष्ट गीतकार नीर शाह सम्मानित
नेपालमा रहंदा वा अमेरिकामा रहेर पनि बिगत चार दशकदेखि निरन्तर रुपमा गीत लेखनमा संलग्न रही साहित्यिक कृति प्रकाशन तथा वितरण, गीत लेखन प्रशिक्षण संचालन एवं विभिन्न साहित्यिक संस्थाहरुमा प्रभावकारी नेतृत्व सम्हालिसक्नुभएका विशिष्ट गीतकार ज्ञानेन्द्र गदालको नाममा आप्रवासी नेपाली गीतकार संघ (आईएनएलए) ले यस बर्षबाट कार्यान्वयन गर्नेगरि अमेरिकी डलर १००१.०० (एक हजार एक) नगद सहित आईएनएलए–ज्ञानेन्द्र गदाल गीत सम्मानू स्थापना गरेको थियो । समारोहमा लोकप्रिय एवं विशिष्ट गीतकार नीर शाहलाई उक्त प्रथम आईएनएलए–ज्ञानेन्द्र गदाल गीत सम्मान समर्पण गरिएको छ ।

सम्मान ग्रहणपछि समानित श्रष्टा शाहले आफ्नो मन्तव्य दिंदै धेरैले कविले लेखेका कविता वा गीतकारले लेखेका गीत पढ्छन होला तर म चाहिं कवि वा गीतकारलाई पढ्ने गर्छु, यसै क्रममा आफुले भूपी शेरचन, हरिभक्त कटुवाल, माधव घिमिरे, रत्न शमसेर थापा, दिनेश अधिकारी वा ज्ञानेन्द्र गदालहरुलाई पढेको र आफ्ना लागि कवि नै कविता र गीतकार नै गीत भएको प्रष्ट पार्नु भयो । यसरी मैले नजिकबाट पढेकै गीतको नाममा स्थापित प्रथम आईएनएलए–ज्ञानेन्द्र गदाल गीत सम्मानबाट सम्मानित हुन पाउनु मेरा लागि गौरवको विषय बनेको छ भन्नुभयो । साथै वहांले नेपाली भाषा साहित्य र संस्कृतिको सेवामा समर्पित आईएनएलएको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

सोही समारोहमा लोकप्रिय गीतकार भुषण खरेललाई आईएनएलएले दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मानित गरेको थियो । खरेलले काठमा कुँदेर बनाइएको आईएनएलएको लोगो अंकित उपहार आईएनएलएलाई प्रदान गर्दै यो संस्थाको उज्ज्वल भविष्यको कामना समेत गर्नुभयो ।

संस्थाका संरक्षक ज्ञानेन्द्र गदालले आफुले समाजका निम्ति गरेको योगदानको कदर स्वरुप आफ्नो नाममा सम्मान तथा पुरस्कार स्थापना गर्ने आईएनएलए प्रति बिशेष आभार प्रकट गर्दै यसबाट प्रथमपटक सम्मानित हुनुहुने नेपाली गीति लेखन क्षेत्रका सशक्त हस्ताक्षर नीर शाहको सुस्वास्थ्य सहित उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रमका सभापति समेत रहेका संस्थाका अध्यक्ष हरि उप्रेतीले समारोहमा उपस्थित, अतिथि, सहभागी, तथा सहयोगीहरु सबैलाई धन्यवाद दिँदै नेपाली भाषा(साहित्य र संगीतको प्रवर्द्धनको हाम्रो यस अभियानमा सम्बन्धित सबैबाट रचनात्मक सहयोग, उचित सल्लाह र सार्थक सुझावको अपेक्षा गर्दै कार्यक्रम सफल पार्न खेलेको भूमिकाप्रति आभार प्रकट समेत गर्नुभयो ।

कार्यक्रमस्थलको आकर्षक सजावट गर्नुका साथै मनमोहक ढंगबाट कार्यक्रम संचालन नेपाली चलचित्र जगतकी लोकप्रिय एवं सुन्दर नायिका सरिता लामिछाने र संचारकर्मी बिज्ञान भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्