नेपाल । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ ।
केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।
सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो ।
पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ ।
यता सरकार र आन्दोलनरत पक्षबिचको सहमतिसँगै बन्द खुलेपछि बुधबारदेखि यातायात सञ्चालनमा आएको छ । पाथीभरामा चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्