२३ माघ २०८१, बुधबार

कोलोराडोखबर डटकमको प्रथम बार्षिकोत्सव भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , February 3rd, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोबाट संचालित कोलोराडोखबर डटकमको प्रथम बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

संयुक्त राज्य अमेरिकासहित विभिन्न देशमा बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई नेपालसँग जोडी राख्न, नेपाली भाषा, साहित्य, संस्कृति रीतिरिवाजलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने र सत्यतथ्य समाचार तथा उपयोगी विचारलाई विभिन्न माध्यममा पस्कन यो अनलाइन पोर्टन सञ्चालन भएको हो ।

आइतबार फेब्रुअरी २ मा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम वेष्टमिनिष्टर सिटीका मेयर Nancy McNally को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा कोलोराडो र कोलोराडो बाहिर रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई रूद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वेष्टमिनिष्टर सिटीका मेयर Nancy McNally बाट पानसमा बत्तिबालेर उद्घाटन गरिएको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानसंगै अगाडि बढाइएको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, एनआएनए एनसीसीका पूर्वअध्यक्ष सुनिल शाह, अनेसास पूर्व केन्द्रीय अध्यक्ष तथा अनेसास बिओटी अध्यक्ष पदम बिश्वकर्माको आतिथ्यता रहेको थियो । यसैगरी समारोहमा कोलोराडोखबर डटकमका सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, नेजाका क्षेत्रीय संयोजक रोशन अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

कोलोराडोखबर डटकमको संस्थापक बासुदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोलोराडोखबर डटकमका सल्लाहकार रामचन्द्र पन्तले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अनलाइन मिडियाको महत्व र बिगत एक बर्षको अवधिमा यस मिडियाले नेपाली भाषी समुदाय माझ पुर्याएको योगदानको चर्चा गरेका थिए ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि वेष्टमिनिष्टर सिटीका मेयर Nancy McNally ले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भाषी समुदायको जमघट भएको कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सीटीबाट संचालित सामुदायिक कार्यक्रमको बारेमा जानाकारी गराएकी थिइन् । उनले नेपाली भाषी समुदायको हक हितको लागी सक्दो सहयोग गर्ने बताइन् ।

यसैगरी त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष सुनिल शाहले एनआरएनएलाई बचाएमात्रै हाम्रा हकहितका कुराहरु शसक्त ढंगले उठाउन मद्दत पुग्ने र यहाँका सम्पूर्ण संघसंस्थाहरुलाई सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न एनआरएनए तयार रहेको बताए ।

त्यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली भाषी समुदायमा अनलाइन मिडियाहरूको महत्व र सकारात्मक परिवर्तनकोलागी यसले पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमका अन्य बिशिष्ठ अतिथि तथा अतिथिहरू पदम बिश्वकर्मा, धर्मराज श्रेष्ठ, राजु सिटौला लगायतले सम्बोधन गर्दै कोलोराडोखबरले नेपाली भाषी समुदायलाई सत्यतथ्य समाचारको माध्यमबाट सधै सुसुचित गराउँदै बिश्वभरी छरिएर रहेका नेपालीको समेत मन जित्न सकोस भन्ने शुभकामना दिएका थिए ।

यसैगरी समारोहलाइ शुभकामना मन्तब्य दिदै नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंले नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको बर्तमान अवस्था यसलाइ स्थायित्व दिन आइपरेका चुनौति सबै सामु राखेका थिए । सोही अवशरमा एनआरएनउ कोलोराडो च्याप्टर र एनआरएनए एनसीसी अमेरिकाका बर्तमान कार्यसमितिले ५ हजार डलर तथा आगामी आउने कार्यसमितिले ५ हजार डलर नेपाली संस्कृतिक केन्द्रलाइ सहयोग गरी ट्रष्टी सदस्य बन्ने क्रममा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले ५ हजार डलरको चेक नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइलाईं हस्तान्तर गरेका थिए । सोही अवशरमा एनआरएनए एनसीसीका पूर्वअध्यक्ष सुनिल शाहले नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ ५ सय डलरको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कोलोराडो खवर डटकमलाई सुरूदेखि नै बिशेष संम्बाददाता रूपमा सहयोग पुर्याएको भन्दै पत्रकार नातिबाबु भट्टलाई समारोहका प्रमुख अतिथि मेयर Nancy McNally बाट प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

एनआरएनए कोलोराडो च्याप्टरका निवर्तमान सचिव शंकर गुरूङद्वारा संचालित कार्यक्रमको अन्त्यमा समारोहका सभापति तथा कोलोराडोखबर डटकमका संस्थापक बासुदेव खनालले कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइ दिने तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिंदै अगामी दिनमा कोलोराडोखबर डटकमलाई संस्थागत रूपमा विकास गर्दै लैजान सबैको साथ , सहयोग र सुझाव पाइराख्ने बिश्वास ब्यक्त गरेका थिए ।

कोलोराडोखबर डटकमको एकवर्षे यात्राः उपलब्धी र आगामी गन्तव्य

प्रतिक्रिया दिनुहोस्