२० माघ २०८१, आईतवार

रास्वपा नेता गणेश पराजुली अमेरिकामा संगठन विस्तार तथा अन्तरक्रियामा सहभागी

कोलोराडोखबर संवाददाता , February 1st, 2025

अमेरिका । काठमाण्डौ क्षेत्र नं ७ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा रास्वपाका नेता गणेश पराजुली प्रवासी नेपालीहरूबीच संगठन विस्तार तथा अन्तरक्रिया गर्ने शिलशिलामा अमेरिकाका विभिन्न शहरहरू भ्रमण गरी फर्किनु भएको छ ।

सांसद पराजुली प्रवासी नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्न तथा उनीहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरू संकलन गर्न पौष २६ गते अमेरिका प्रस्थान गरेका थिए । भ्रमण अन्तर्गत उहाँले टेक्सास, मेरिल्याण्ड, डल्लास, लस एन्जलस, फ्लोरिडा, न्यू जर्सी, न्यू योर्क लगायतका प्रमुख शहरहरूमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागिता जनाउनु भयो ।

उक्त भ्रमणको संयोजन रास्वपा अमेरिका विभागका प्रमुख रमेश भट्ट तथा उपप्रमुख दीपक सुनुवारले गर्नु भएको थियो ।

प्रवासमा रहेका नेपालीहरूसँगको अन्तरक्रियामा उनीहरूले अबको नेपालको भविष्य नै राष्ट्रिय स्वतन्त्र पार्टी रहेको भन्दै पार्टीले जनताको विश्वास जित्नेगरी संसदमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । साथै, २०८४ सालको निर्वाचनमा आफ्नै सरकार बनाएर पुराना पार्टीहरूलाई विस्थापित गर्नुपर्ने सुझावसहित शुभकामना पनि व्यक्त गरेका थिए ।

भ्रमणको क्रममा टेक्सास राज्यमा रास्वपा टेक्सास च्याप्टरको पूर्ण समिति घोषणा तथा मेरिल्याण्ड राज्यमा तदर्थ समिति गठन गरियो । प्रवासी नेपाली समुदायको सक्रिय सहभागितासहित संगठन विस्तार अभियानलाई अझ सशक्त बनाउन यी नयाँ संरचनाहरू गठन गरिएको हो ।

यता, सांसद पराजुलीले वाशिंङ्टन डीसीस्थित नेपाली राजदूतावासमा महामहिम राजदूतसँग भेटघाट गर्दै समसामयिक विषयमा छलफल गर्नुभयो ।

साथै, मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट स्टेट डेलिगेटमा निर्वाचित ह्यारी (हरी) भण्डारीसँग उहाँकै कार्यकक्षमा भेट गर्नु भयो । स्टेट डेलिगेट भण्डारीले सांसद पराजुलीलाई अमेरिकी संसदमा अतिथिको रूपमा स्वागत गर्दै संसद अधिवेशन अवलोकन गर्ने अवसर प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्