२० माघ २०८१, आईतवार

कविताः कोलोराडोसँग

कोलोराडोखबर संवाददाता , February 1st, 2025

-सुदीपभद्र खनाल-

ले ले ले ल इभान ले जुगलको जस्तै मिठो ले जल
हो खोज्दैछ पियासमा हृदयले चोखो हिमाली जल
खुल्दे नील पहाड मेट्छु मनको तिर्खा भनी निल्गिरि
खुल्दे लौ न अकास देवगणको हेरूँ बगैँचा फिरी
हे एल्बर्ट तँ हाँसिदे मलयको छर्दे मिठो वासना
मेरै शैल सुगन्ध दे हृदय यो आक्रान्त भो प्यासमा
मेरै पर्वत लेकका झलक दे रक्की मलाई यहाँ
प्यासी छाति छ यो मरुस्थल सरी रित्तो म फर्कूँ कहाँ
हे स्नेफेल्स तँ हाँसिदे हृदयका ल्होत्से र चोयू बनी
मेरै सुन्दर पोखरा झलक दे हाँस्दे अरोरा तँ नि
बस्दे डेन्भर नैनमा हृदयको नाम्चे बनी सुन्दर
तेरो सुन्दरता निहार नगरी फर्कूँ म के खै घर
मेरो अन्तरभित्र मित्र सुकिलो नेपालको चित्र छ
जे हेरे पनि देख्छु शैलपटको आभास जो भित्र छ
दे लैजान्छु खिपेर यो हृदयमा तेरो उज्यालो छवि
आभायुक्त हिमालको पृय छवि प्यासी भयो यो कवि
यो आलोक लिएर लोक भरमा बाँडू नयाँ ज्योति म
यो सौन्दर्य टिपेर दृष्टि सबमा भोरूँ नयाँ दृष्टि म
तेरो सिर्जनशीलतासँग सिकी सिर्जूँ नयाँ सिर्जना
तेरो नव्यपना लिएर म बनू आफैँ स्वयं नै नयाँ
–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्