१८ मंसिर २०८१, मंगलवार

कविताः श्रमको खेती

कोलोराडोखबर संवाददाता , November 7th, 2023

–मसान उपासक–

ईश्वरलाई प्रयोगशालामा पठाएपछि
विज्ञानले झिक्यो उसको आँखा
र बाँड्न थाल्यो धर्तिमा प्रकाश
हामी त्यहीँ उज्यालोमा ईश्वर खोजिरह्यौँ ।

ईश्वरलाई प्रयोगशालामा पठाएपछि
विज्ञानले निकाल्यो उसको मस्तिष्क
र पठायो जिवनको नयाँ सिद्धान्त
हामी त्यहीँ सिद्धान्तमा ईश्वर खोजीरह्यौँ ।

बिस्तारै प्रयोगशालामा निकालिदै गयो
ईश्वरको जिव्रो, मुटु र श्वास
अनि बनाउन थालियो अर्कै आवाज
हामी त्यहिँ आवाजमा पनि ईश्वर खोजिरह्यौँ ।

क्रमशः निकालिदै गए प्रयोगशालामा
ईश्वरका नाक, छाती र पेट
हात, खुट्टा र नितम्ब
कलेजो, आन्द्रा र कान
त्यसपछि ईश्वर पनि बहिरो भयो
हामी त्यही ईश्वरसँग ईश्वर खोजिरह्यौँ ।

प्रयोगशालामा पठाएपछि
यसरी बिस्तारै ईश्वरलाई पनि प्रयोग गरियो
र बनाईदियो विज्ञानले उसकै पनि क्लोन
जस्तो कि अचेल हरेकले आफुलाई स्वघोषणा गर्छ
मानौँ ऊ साच्चिकै ईश्वर हो ।
र ईश्वरले गरेका घोषणा आफैँमा नियम हुन् ।

ईश्वरलाई प्रयोगशालामा पठाएपछि
सोचेको हुँ– विज्ञानले पनि खराब गर्छ ।
आउ बरु श्रमको पुजा गर
श्रमले मात्रै हामी अगाडि बढ्न सक्छौँ ।

–बकैया–४, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्