१६ माघ २०८१, बुधबार

जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध रविद्वारा उच्चमा पुनरावेदन

कोलोराडोखबर संवाददाता , January 28th, 2025

नेपाल । रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध उच्च अदालत गुहारेका छन् । आफूलाई ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्लाको आदेश त्रुटिपूर्ण र बेरितको रहेकाले बदर गर्नुपर्ने उनको माग छ ।

सोमबार ७ पेज लामो पुनरावेदनमा रविले आफू सहकारीसँग असम्वन्धित व्यक्ति भएको र धरातलीय यथार्थबिना प्रपञ्च रचेर अभियोग लगाइएको गुनासो गरेका छन् ।

आफूलाई मुद्दा चलाउनुअघि सोही अदालतमा दायर भएको अभियोगपत्रमा आफ्नो नाम समावेश नरहेको रविले स्मरण गराएका छन् । पूरक अभियोजन पनि कार्यविधि अनुसार नभएको उनको भनाइ छ ।

गोर्खा मिडियासँग गरेको सम्झौता अनुसार आफ्नो नाममा कायम हुने स्वेट सेयरको रकम कम्पनीमा दाखिला गराउने जिम्मेवारी जीवी राईको हुने र सो सेयर आफूले कम्पनी छोड्दा अन्यत्र विक्री गर्न नपाउने शर्त रहेकाले आफ्नो खातामा ७५ लाख रूपैयाँ दाखिला भएको प्रष्ट पारिएको छ । उक्त रकम सूर्यदर्शन सहकारीको खाताबाट सिधै आफ्नो खातामा नआएको रविले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्