–सुदीपभद्र खनाल–
नाचौँ हामी अब समयको नाप नाघेर आऊ
राखौँ हामी नव प्रणयको माप सम्झेर आऊ
लाखौँ नौला पल अब रचौँ फूलझैँ मुस्कुराऊ
यो हो माया नगर धरती बाँच हाँसेर आऊ ।
हाम्रो माया मृदु समयको गीत हो गुन्गुनाऊ
साँच्चै छायाँ सरि छ बुझ यो जिन्दगी नाच आऊ
पारौँ यौटा नव सृजनको भोर साकार आऊ
यो हो माया नगर दुनियाँ बाँच हाँसेर आऊ ।
हाम्रो यात्रा पुरुष प्रकृति स्पन्द हो आदि सत्य
मात्रै चोला युग युग नयाँ दृश्य उत्कर्ष नव्य
यो यात्राको अनुपम पला छुट्छ जानेर आऊ
प्यारी नाचौँ युगयुग पछी भेटमा साथ आऊ ।
खुल्लान् लाखौं पछि पनि यहाँ सिर्जनाका मुहार
फुल्लान् लाखौँ कुसुम कलिका दिव्य शोभा हजार
आफैँ हामी अपितु नरहे हुन्न यो भेट आऊ
प्यारी धर्ती नभ घुमिसक्यो साथमा नाच आऊ ।
यो शोभामा अनुपम नयाँ शुभ्र सौन्दर्य कप्न
यो आभामा झलमल अझै दीप्तिमा दीप्ति थप्न
नाचे जस्तै फनफन घुमौँ विश्व ब्रम्हाण्ड आऊ
यो नै हाम्रो गति नियति हो छोड संकोच आऊ ।
-अमेरिका, भर्जिनिया ।
प्रतिक्रिया दिनुहोस्