६ माघ २०८१, आईतवार

नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ

कोलोराडोखबर संवाददाता , January 19th, 2025

नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भएको छ ।

भक्तपुर दरबारस्क्वायमा शनिवार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत सङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताउनुभयो ।

चिनियाँ पर्यटक भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सङ्ख्यामा दोस्रोमा पर्ने बताउँदै नगरप्रमुख प्रजापतिले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीद्वारा हुने नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन गर्न आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको भन्दै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाच प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्