५ माघ २०८१, शनिबार

कविताः आज लिलामी छ

कोलोराडोखबर संवाददाता , January 18th, 2025

–सुदीपभद्र खनाल–

ढाकर बोकेर
खेपेर भीर भञ्ज्याङ
र अजङ्गका पहाडहरू
झेलेर दुइधारे तरवार र भालाहरू
पिएरै रगतको आँसु
र पसिनामा मुछिएका
निस्ता दुःखहरू
ईतिहासले जोगाएको
सगरमाथा जस्तो गौरव
सीताजस्तो पवित्रता
बुद्दजस्तो शान्ति
जनकजस्तो बुद्दिमता
समाजवाद साम्यवाद पूँजीवाद
ढाँक्रेवाद साँप्रेवाद र थाँक्रेवाद केहीले पनि
नथेग्ने देखिएपछि
उत्तर आधुनिक विनिर्माणवाद
भाडावाद छाडावाद र नारावादहरूको पनि
केही नलागेपछि
भूमण्डलीकरणको रेशमी रुमालले छोपेर
बोलकबोलको तयारी भैरहेछ
रातो बजारमा चर्केको आवाजस्तै
दलालहरूको आवाज चर्को छ
र आधुनिक पूँजीबजारमा
खोटा सिक्का जस्तै भैरहेछ देश
जिजुबाजेको पुर्ख्यौली पाखो
हजुरबजुको माइती गाउँ
अनि मेरो आफ्नै इतिहास
वर्तमानको पटाङ्गिनीमा
जम्मा भैरहेछन् खरिददारहरू
हो…
आज लिलामी छ ।

–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्