३ माघ २०८१, बिहीबार

आर्थिक कूटनीति सम्बन्धी समीक्षा बैठकमा गैरआवासीय नेपाली संघ सहभागी

कोलोराडोखबर संवाददाता , January 16th, 2025

नेपाल । गैरआवासीय नेपाली संघले नेपाल सरकारको आर्थिक कूटनीति सम्बन्धि समीक्षा बैठकमा सहभागिता जनाएको छ ।

परराष्ट्र मन्त्रालय, नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धि महाशाखाका प्रमुखको संयोजकत्वमा मिति २०८१ साल पौष २९ गते मन्त्रालयको सभाकक्षमा आर्थिक कूटनीति सम्बन्धि समीक्षा बैठक सम्पन्न भएको हो ।

संघका तर्फबाट महिला उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा श्री अनलराज भट्टराई (सिईओ, एनआरएन डेभलपमेन्ट फण्ड) र सचिवालयका सिईओ राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो ।

विदेशमा रहेका नेपाली समुदायसँगको कूटनीतिक समन्वय र आर्थिक विकासका प्रयासहरुलाई प्रभावकारी बनाउँदै लैजाने उद्देश्यले आयोजित उक्त समीक्षा बैठकमा मुख्यतः आर्थिक कूटनीति सम्बन्धि निर्देशिका २०७१ को प्रकरण ४.३ को आधारमा विदेशस्थित नेपाली नियोगहरुबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने विषयमा छलफल भएको थियो ।

बैठकले कार्यक्रमहरूको नियमित प्रतिवेदन तयार गर्ने र प्राप्त उपलब्धिहरु तथा नतिजाको समीक्षा गरेर सुधारका उपायहरुको कार्यान्वयनमा जोड दिइएको थियो । बैठकमा उपाध्यक्ष रोजिना राईले आर्थिक कूटनीतिको क्षेत्रमा संघले अहिलेसम्म गरेका सहकार्यहरु र आगामी दिनहरुमा मन्त्रालय, सम्बन्धित देशका दूतावासहरु तथा अन्य सरकारी निकायहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउनमा जोड दिनुभयो ।

महाशाखाका प्रमुखले बैठकमा आर्थिक कूटनीतिको कार्यान्वयनलाई थप प्रभावकारी र सक्रिय बनाउनको लागि नियमित बैठक गर्ने र यो कार्यलाई निरन्तरता दिने महत्त्वपूर्ण निर्णय लिइएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्