१ माघ २०८१, मंगलवार

एनआरएनएले थाइल्याण्डको बैंककमा चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने

कोलोराडोखबर संवाददाता , January 13th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ ।

एनआरएनएले आइतबार नेपालको राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो ।

यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्नेभएको छ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ ।

प्रेस नोट
दोस्रो अन्तर्राष्ट्रिय युवा-पिएनओज् सम्मेलन- बैंकक थाइल्याण्ड (१५ –१६ मार्च, २०२५ ) तथा एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘संगमʼ – कम्बोडिया (१८ –१९ मार्च, २०२५)
आदरणिय पत्रकार मित्रहरु,
युवाहरू राष्ट्रको प्रगतिको मेरुदण्ड अनि परिवर्तनका संवाहक हुन् । पछिल्लो समय विश्वव्यापीकरणसँगै नेपालको ठूलो युवा जमात रहरले, कहरले, बाध्यताले वा क्षमताले विश्वका विभिन्न देशमा छरिएर रहेका छन् । युवासँगै बढीरहेको मष्तिस्कपलायनले नेपालको विकास र समृद्धिमा तात्विक असर पर्ने निश्चित छ । वार्षिक रुपमा लाखौँ युवाहरु विदेश पलायन भइरहँदा देशमा सक्रिय जनसंख्या पातलिँदै गएको छ । यस्तो अवस्थामा विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको छ । अर्कोतर्फ दोश्रो विश्वयुद्द पछि बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरुमा सातौँ लाख नेपाली मूलका युवाहरु पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोज्दैछन् । यसरी विदेशमा बस्दै आएका नेपाली मुलका लाखौँ नेपालीले पनि नेपाली हुनुको गर्व गर्दै पहिचान माग्दै आएको वर्तमान अवस्था छ जसलाई हामी नेपाली मूलका नेपाली (People of Nepali Origin – PNOs) भन्छौँ ।
यसै सन्दर्भलाई मनन गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयअनुसार, Empowering the Youth, Shaping the PNOs Future भन्ने मुल नाराका साथ दोश्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको छ । सम्मेलन थाइल्याण्डको बैंककमा १५ –१६ मार्च २०२५ मा आयोजना गरिनेछ । नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज्, र नेपालका स्थानीय युवाहरू बीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ। सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिमखडाको निर्देशाकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको छ ।
सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।
यसैबीच १८–१९ मार्च २०२५ मा कम्बोडियाको Phnom Penh City मा १० औं एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ । यसपटक संघले एसिया -प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘संगम’ नामाकरण गरेको छ । उक्त अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओज्का माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैगिंक समानता साथै गैरआवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र उक्त महादेश भित्रका विभिन्न एनसीसीहरुको सिकाई, अनुभव र आपसी सहकार्यका बिषयहरुको पहिचान गर्दै अघि बढ्न सहयोग मिल्ने गरी कार्यक्रम तय गरिएको छ ।
दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनीधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पुर्व अध्यक्षहरु,एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपुर्वका देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
अन्त्यमा, दुवै सम्म्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला, सञ्चारकर्मी, सहयोगी-सौजन्यकर्ता एवं विश्वभरका गैरआवासीय नेपालीहरुबाट साथ समर्थन र शुभेच्छा प्राप्त हुने आशा राखेका छौँ ।
धन्यवाद सहित,
मिति: १२ जनवरी २०२५
बालुवाटार, काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्