५ माघ २०८१, शनिबार

एनआरएनए महिला विभागको सहयोगमा नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

कोलोराडोखबर संवाददाता , December 31st, 2024

नेपाल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ ।

आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गर्नुभएको हो ।

उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच, गैरआवासीय नेपाली संघ र इलाम नगरपालिकाबीच सम्भावित सहकार्यका लागि छलफल भएको छ । आइतबार संघको सचिवालयमा भएको भेटमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र कुमार राउत र इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाबीच दुई पक्षीय हितका विविध विषयहरुमा सम्भावित सहकार्यका सम्बन्धमा छलफल भएको हो ।

नगर प्रमुख थापाले इलाम नगरपालिकाका तर्फबाट औपचारिक पत्र दिँदै पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, लगानी, ज्ञान, सीप लगायत विविध क्षेत्रमा सहकार्यका लागि प्रस्ताव समेत गर्नुभएको थियो ।

विशेषतः नगर प्रमुख थापाले इलाम नगरपालिकाको १६८ वर्ष पुरानो चिया उत्पादन तथा प्रशोधनलाई झल्किने तथा अन्वेषण गर्न मिलेन “चिया संग्रालय” निर्माण गर्ने, दुध तथा दूग्धजन्य उत्पादनलाई प्रवद्र्धन गर्ने तथा अलैँचीको व्यवसायिक उत्पादन तथा नेपाल तथा विदेशमा पनि बजारीकरणका लागि कृषि पर्यटन मार्फत प्रवर्द्धन गर्ने विषयमा जोड दिनु भएको थियो ।

सो अवसरमा सिइओ राउतले सम्भावित सहकार्यका लागि संघको व्यवस्थापनसँग आवश्यक छलफलका लागि पेश गर्ने व्यहोरा जानकारी गराउनुभयो ।

उक्त छलफलमा नगरपालिकाका सल्लाहकार समिप घिमिरे, तथा सामाजिक अभियन्ता टंकनाथ पुरीको पनि उपस्थिति रहेको थियो । यस्तै संघका तर्फबाट अधिकृत कुनाल मिश्राको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्