१२ पुष २०८१, शुक्रबार

रमेश विकल स्मृति दिवसमा पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , December 26th, 2024

नेपाल । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवीलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाका सहआयोजनामा शनिबार आरुबारीमा सम्पन्न कार्यक्रममा भाषा, साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा प्रतिनिधि सभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल तथा संविधान सभाका पूर्वसदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयालको विशिष्ट आतिथ्यमा समारोह सम्पन्न भएको थियो ।

समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई रमेश विकल वाङ्मय पुरस्कार, मासिक एक सय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार, अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो भने रमेश विकल कला–सङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोध सम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरूलाई सभापति, प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरूले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

समारोहमा स्व. विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा. बिदुला घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो भने बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’ लाई सम्मान गरिएको थियो । त्यस्तै माझीगाउँ, इन्द्रावतीकी दीलाशा तमाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो  ।

समारोहमा वक्ताहरूले नेपाली साहित्य, कला, सङ्गीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलले दिनुभएको योगदानको स्मरण गरेका थिए भने पुरस्कृत स्रष्टाहरूले विकलको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा साहित्य–कलाको क्षेत्रमा अरू जिम्मेवारी थपिएको टिप्पणी बताउनुभएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यता रहेको कार्यव्रmममा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष केके कर्माचार्यलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्