–मसान उपासक–
सम्पादक ज्यू,
लामो समयसम्म तपाईंको रिपोर्टर बनेपछि
आज आफ्ना दुबै किड्नी बिक्रिमा भएको
एउटा जरुरी विज्ञापन पठाएको छु ।
अर्कोपटक आफ्नै प्रेमिका बसेकी
प्रेमिल यो मुटुको पनि विज्ञापन छपाउनु छ
विस्तारै बजारमा बिस्थापित गरेर सबै सबै
बिक्रिमा राख्नुछ
आफ्नै टाउको, हातखुट्टा, धमनी र शीराहरू ।
समयको अनुहारमा पोत्नु छ रङ
बदलिनु छ क्यानभासमा उभिएर आफैँ
जसरी गुलेलि खेलाईरहेको बच्चालाई पनि
माया पलाउन सक्छ, साना बचेराहरूको ।
सम्पादक ज्यू,
हरेक दिन सकिरहने दाल र चामल भन्दा
किन्न लाउनु ईमानको गह्रौं भारी
त्यही ईमान लगेर छाप्नु डिजिटल पत्रिकामा
त्यही पत्रिका देखाएर संसारलाई भन्नू
मलाई काधमा राखेर हिड्ने यी मानिस
संसारमै सबैभन्दा ईमान्दार छन् ।
बकैया–४, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्