–रमेशचन्द्र घिमिरे–
कम्मल ओढी कोठामा नै
बस्छु धम्मर धुस
बाहिर जान्नँ चिसो लाग्छ
आयो, आयो पुस ।
सल्काएर घसेटा र
झिर्कामिर्का झुस
आगो तापी जाडो भगाऊँ
आयो, आयो पुस ।
बाक्लो सुइटर लाउन पाए
हुन पाइन्थ्यो खुस
बालाई भन्दिनु न आमा
आयो, आयो पुस ।
कुहिरो हो कि बादल हो
उड्छ फुस्फु–स्
घामको मुखै देख्नै गाह्रो
आयो, आयो पुस ।
अहिले पढौँ अल्लि पछि
खेलौँ तामा टुस
यतिखेर जाडो छ
आयो, आयो पुस ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्