७ बैशाख २०८२, आईतवार

औद्योगिक क्षेत्रमा ‘पिक आवर’ मा फेरि लोडसेडिङ !

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर) मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ ।

माथिल्लो तामाकोशीबाट उत्पादन शुरु नभएसम्म बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र विद्युत् उत्पादन शुरु गर्ने गरी मर्मत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्