७ बैशाख २०८२, आईतवार

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल (हेटौंडा) । वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।

राजधानीमा हेटौंडामा आयोजित ‘आर्थिक वर्ष २०८२।८३ जिल्लास्तरीय वार्षिक योजना तर्जुमासम्बन्धी गोष्ठी’ कार्यक्रमका अवसरमा आयोगले आयोजना बैंकबारे जानकारी दिएको हो ।

आयोजना बैंक कार्यान्वयनमा आएसँगै बैंकमा परेका योजनाहरू प्राथमिकताका आधारमा छानिने र छानिएका योजनाको प्रगतिसमेत हेर्न सकिने व्यवस्था हुने आयोगका उपाध्यक्ष गंगादत्त नेपालले बताए ।

‘यो सबै भएका योजनाहरूको कति लिस्टिङ गर्न सकिन्छ, ती योजनाहरू प्राथमिकताका आधारमा छान्ने बैंक हो,’ उनले भने, ‘र पछि त्यसको प्रगति पनि हेर्न पाइन्छ ।’ कार्यान्वयनमा गएका योजनाको नियमन गर्ने साधन भएकाले प्रदेशमा वाग्मतीले पहिलो पटक सुरु गर्न लागेको समेत नेपालले जनाए ।

उक्त बैंक कार्यान्वयनले जथाभावी टुक्रे तथा खल्तीका योजना नपर्ने उनको भनाइ छ । ‘सायद एक महिनाभित्रमा त्यो सुरु गर्छौं । यसले केही न केही परिवर्तन ल्याउँछ भन्ने छ । यो स्थानीय निकाय र केन्द्रमा हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्