नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो ।
विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए ।
बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एक–एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो ।
यसैगरी लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । सुदूरपश्चिमले भने एनपिएलमा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल ५, उन्मुक्त चन्द ४, अर्जुन साउद ०, रामोस सिमण्ड्स ०, सूर्य तामाङ ७, टम मुर्स ७ र साद विन जफर शुन्य रनमा आउट भए ।
१९ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनीको ब्याटिङलाई विवेकले सम्हाल्ने कोशिस गरेपनि सफल हुन सकेनन् । उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । बलिङमा सुदूरपश्चिमका बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले ३–३ र स्कट कुगेलेइनले २ र अभिनास बोहराले एक विकेट लिए ।
त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएका थियो ।
प्रतिक्रिया दिनुहोस्