काठमाडौं । अमेरिकी व्याट्सम्यान आन्द्रेस गौसले नेपालमा तहल्का मच्चाएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपिएलकै पहिलो शतक प्रहार गरेका हुन् ।
लुम्बिनी लायन्सविरुद्ध गौसले ५४ बलमा शतक पूरा गरे । गौसको उत्कृष्ट प्रदर्शनसँगै पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।
शुक्रबार एनपीएलमा कर्णाली याक्सले पहिलो जीत दर्ता गराएको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गरेको हो ।
टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए ।
देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।
अन्तिम ओभरमा कर्णालीलाई जीतका लागि ९ रन आवश्यक थियो । क्रिजमा थिए मक्सुद र अर्जुन । सुरुवाती ३ बलमा अर्जुनले लगातार २ रन लिँदै जीतका लागि आवश्यक रन र बल बराबर गरेका थिए ।
चौथो बलमा अर्जुन रन आउट हुन पुगे । त्यसपछि कर्णालीलाई जीतका लागि २ बलमा ३ रन आवश्यक थियो । अन्तिम ओभरको पाँचौं बलमा मक्सुदले चौका हान्दै कर्णालीलाई जीततर्फ दोहोर्याए ।
बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्