९ बैशाख २०८२, मंगलवार

बालकविताः गरिबको जाडो

कोलोराडोखबर संवाददाता , December 7th, 2024

–रमेशचन्द्र घिमिरे–
कमिजमाथि स्विटर र ज्याकेट लाएर
मुखियाको छोरा हिँड्छ गीत गाएर ।

जड्यौरीले छोपेको दुब्लो जिउ छ
आफूलाई त जैले नि स्यूको सिउ छ
हाम्रो शिरले ऊनीको टोपी देख्दैन
पातलो यो गन्जीले जाडो छेक्दैन ।

जुत्तामोजा लाए पो गोडा फुट्थेन
अनि बल्ल जाडामा रिस उठ्थेन
मुखियाका घरमा बाले वर्ष बिताए
आफू हारे कामले उनलाई जिताए ।

न त मीठो खाएका राम्रो लाएका
उनकै खेत गरेर दुःख पाएका
सकिन्जेल गरिबको हड्डी घोटाए
हाम्रा बाका दुस्खले साहु मोटाए ।

दिनरात घोटिँदा नि कमाइ भएन
काम छोडेको भोलिपल्ट क्यै नि रहेन
दयालु भै टोपलिए थाङ्ना दिएर
उध्रिएका कपडा लाउँला सिएर ।

नयाँ लुगा दिन उनलाई कत्रो सकस
मुखियाका दौरा सुर्बाल् बालाई बकस
सधैंभरि जड्यौरी थोत्रा लाउँछन्, बा
हाम्रा अब सुखका दिन कैले आउँछन् बा ?

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्