१९ मंसिर २०८१, बुधबार

रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगिंदै

कोलोराडोखबर संवाददाता , December 3rd, 2024

नेपाल । सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार चितवन लगिंदैछ ।

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पुरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ ।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरुलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो ।

रविलाई कास्की, रुपन्देही, काठमाडौं, चितवन पछि पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्