११ मंसिर २०८१, मंगलवार

अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल भव्यरूपमा सम्पन्न

कोलोराडोखबर संवाददाता , November 26th, 2024

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नी र यसको केन्द्रस्थित डार्लिङ हार्बरको टम्बलङ पार्कमा शनिबार नेपाल फेस्टिभल सिड्नी २०२४ भव्य रूपमा सम्पन्न भएको छ ।

न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्स साथै विपक्षी नेता र अरू संघीय र राज्यस्तरका राजनीतिकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालको कला–संस्कृति झल्कने प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । गायक हेमन्त शर्मा, एक्स ब्यान्ड र आस्था राउतलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

मुलुक चिनाउने मेलाका रूपमा यो महोत्सव महत्त्वपूर्ण रहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलिया, न्यु साउथ वेल्सका संयोजक विनोद कुँवरले बताए ।

योपटक करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको भनाइ छ ।

महोत्सवअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा समेत गरिएको एनएसडब्ल्यू राज्यसचिव कल्याण खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्