-लक्ष्मी श्रेष्ठ ‘रेशमी’-
चुपचाप म नियालिरहेछु
तिम्रा पदचालहरु
जसरी भोको सडक बालक
बजारमा सजाएका
खाने कुरा नियाल्छ
भिड्मा नि शान्त छु आजकल
जमेका हिमताल जस्तै
तिम्रा पाउजुका छम छम
मेरा कानै झन्काएर गएका छन्
मनभित्रको आस्थालाइ
अझै बलियो बनाएर
सल्लो सुसाएझैँ सुसाएर
एक झोँका हावाको भरमा
बिश्वासको ऐनालाई
निमेशभरमा फुटाएर गयौ
छरपस्ट टुक्राहरुमा
मेरो प्रेम छरिएर
मलाई नै जिस्काएरहेको देखेँ
चोइटिएका ती भावनाहरुले
खुचिङ खुचिङ मचाउँदै
मुटु च्वास च्वास बिझाइरह्यो
तिम्रा धोका र बेइमानिको
आफैँ साक्षी बनेर
चुपचाप म नियलिरहेछु
तिम्रा पदचापहरु
अब…म
सजाउने छैन तिम्रा लागि
माया र स्नेहको ताजमहल…।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्