१२ मंसिर २०८१, बुधबार

कविताः गिज्याउँछन् कविताहरूले

कोलोराडोखबर संवाददाता , November 23rd, 2024

–राजु सिटौला–
आजभोलि मलाई,
गिज्याउँछन्
मेरा कविताहरूले,

खिस्याएर
थपडी बजाउँछन्
मेरा कथाहरूले,

मैले फूलको बारेमा
लेखेको थिएँ,
जूनको बारेमा
अनि
परीको बारेमा,

सबै सबैमा
मात्र तिम्रो
बयान थियो,
तिमी नै थियौ
कविताहरूमा
अनि कथाहरूमा,

छोडेको थिएँ
पानाहरूमा
प्राणका केही डोबहरू,
अक्षरहरूमा
छोडेको थिएँ
ढुकढुकीका
केही स्पन्दनहरू,
इतिहासका पानाहरूमा
नखुइलिने गरी,

युगौं युगसम्म
घामपानी थेग्नेगरी,
अपसोच,
मप्रतिको प्रेम
खुइलिएर गयो है ?
एक टुक्रो जुनीको
घामपानी पनि
थेग्न सकेन है ?

हेर न,
तिमीले
छोडेर गएपछि,
गिज्याउँछन्
मलाई आजभोलि
मेरै कविताहरूले,

खिस्याउँछन्
मेरै कथाहरूले…।

–कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्