८ मंसिर २०८१, शनिबार

भक्तपुरमा अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको कार्यशालाको आयोजना

कोलोराडोखबर संवाददाता , November 23rd, 2024

नेपाल । अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको भक्तपुरको पोटरीस्क्वायरमा पाँचदिने कार्यशालाको आयोजना गरिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासको संयोजनमा कला अनुभव आदानप्रदान गर्ने योजनाअन्तर्गत गरिएको कार्यशालामा अमेरिकाका दुई अग्रज सेरामिक्स कलाकार मार्क न्याफ्जिगर तथा जोसी न्यफ्जिगर र नेपालका विभिन्न जिल्लाका १० जना महिला सेरामिक्स कलाकार सहभागिता रहेका कार्यक्रमका स्थानीय संयोजक एवं कलानिर्देशक कैलाशकुमार श्रेष्ठले बताउनुभयो ।

मौलिक कला सम्पदालाई कसरी आधुनिक स्वरुपमा लगि यसमा संलग्न समुदायको आर्थिक सशक्तीकरण गर्न सकिन्छ भन्नेबारेमा अमेरिका र नेपालका सहभागीबिच गहन परामर्श गरिएको अमेरिकी कलाकार मार्क न्याफ्जिगरले बताउनुभयो ।

कार्यशालामा उहाँहरूबिच संयुक्त स्थलगत कलाअभ्यास हुनुका साथै सहभागी सबैले आआफ्नो ठाउँको विशेषता झल्कने गरी माटोका विभिन्न सामग्री बनाएका छन् । मौलिक कला सम्पदा राज्यको पहिचान भए पनि राज्यले यसतर्फ पर्याप्त ध्यान दिन नसकेको र लगानी नगरेको बेला भएको यस्ता कार्यशालाले सीपसँगै आर्थिक सशक्तीकरणमा टेवा पुग्ने कार्यशालामा सहभागी भक्तपुरकी सेरामिक्स कलाकार प्रियालक्ष्मी प्रजापति बताउनुहुन्छ ।

कार्यशालामा नेपालका तर्फबाट काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, जनकपुर र कास्कीका ऐश्वर्या शाक्य, अन्मरी तामाङ, हर्षिता सिंह, ज्योति ठाकुर, प्रमिला राजकर्णिकार, साम्बिका बासुकला, रञ्जु यादव, प्रियालक्ष्मी प्रजापति, सुमित्रा बराल र सुशीला सिंहको सहभागिता छ ।

कार्यशालामा अमेरिकी फ्यासिलेटर न्यफ्जिकरगद्वयले त्यहाँको सेराम्किस कलाका विविध पक्षबारे जानकारी दिनुका साथै द्विपक्षीय सेरामिक्स कला अनुभवबारे प्रकाश पार्नुभएको थियो । शुक्रबार दिउँसो सबै सहभागीले बनाएका माटाका भाँडाहरूको संयुक्त प्रदर्शनी पोटरी स्क्वायरमा रहेको कल्चर क्याफेमा गरिने क्याफेका सञ्चालक उकेश प्रजापतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्