–मीन बोलखे (नेपाल) । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका र कोलोराडो च्याप्टरले १४औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएका पेम्बा रिता शेर्पालाई सम्मानित गरेको छ ।
नेपालको काठमाडौं बालुवाटारस्थित एनआरएनए आईसीसी भवनमा आयोजित कार्यक्रममा शेर्पालाई सम्मानित गरिएको हो । एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको लोगो (झण्डा) विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउनु भएका शेर्पालाई सोमबार एक लाख रुपियाँसहित सम्मान गरिएको हो ।
एनआरएन एनसीसी अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङको सभापतित्व तथा एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव भीम केसी कमल, सह कोषाध्यक्ष कृष्ण तिमल्सिना, एनआरएनए अभियन्ताहरु पूर्णचन्द्र बानियाँ, अर्जुन गुरुङ र राजकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले पठाउनु भएको भिडियो सन्देश प्रशारण गरिएको थियो ।
कोलोराडो निवासी एनआरएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाइरेक्टर निमा शेर्पाको समन्वयमा उक्त लोगो प्रशिद्ध पर्वतारोही पेम्बा रिता शेर्पाले सगरमाथाको चुचुरोमा फहराउनु भएको हो ।
पेम्बा रिताले आफूहरुको संस्थाको लोगो सगरमाथा शिखरमा फहराउन सफल हुनु भएकोमा उहाँप्रति हार्दिक आभार प्रकट गर्दै गौरबको महशुस गरेको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष पौडेलले बताउनु भयो ।
साथै नेपालीहरु जो जहाँ भए पनि सधैँ नेपाल र नेपाली हुनु प्रति गौरब हुने उल्लेख गर्दै शेर्पा समुदायले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिंदै आएको कोलोराडो च्याप्टरका अध्यक्ष पौडेलले प्रतिक्रिया दिनु भयो ।
पर्वतारोही पेम्बा रिताले गत १९ मे २०२४ का दिन बिहान ६ः४५ बजे १४औं पटक सगरमाथाको सफल आरोहण गर्नु भएको हो । उनले सो समयमा एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको झण्डा सगरमाथाको चुचुरोमा फहराउनु भएको थियो ।
उहाँले ३ पटक तिब्बत र ११ पटक नेपालतर्फबाट सगरमाथाको आरोहण गर्नु भएको हो । त्यस्तै उहाँले २ पटक केटु, ५ पटक मनास्लु, २ पटक च्यो यू, १ पटक शिशापाङ्मा, ३ पटक आमा दब्लम, २ पटक हिम्लुङ र १५ पटक मुजकता (चीन) हिमालको सफल आरोहण गरिसक्नु भएको छ ।
उहाँ दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ९ रोलवालिङका वासिन्दा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्