८ मंसिर २०८१, शनिबार

सूत्रकथाः प्रलय

कोलोराडोखबर संवाददाता , November 9th, 2024

–श्यामकृष्ण ज्ञवाली–

– सरकार !
बाढी र पहिरोले घर भत्कियो । बासको ब्यवस्था गर्नु पर्यो ।
– क्यार्नु ? भुमी ब्यवस्था तथा गरिबी निवारण कार्यलय पनि भत्किएको छ ।
– तीन दिन अघि कठ्याङ्ग्रीएर आमा मरिन ,सुत्केरी बुढी र बच्चाको बिजोग भयो ।लौन ओतको ब्यवस्था होस।
– चुनाव ताका जस्तो मगन्ते पारा नदेखाउनुस ।मर्यादित हुनुस।आमा स्वर्गे भएको भर्खरै तीन दिन भएछ। मिर्त्यु संस्कार नसकी घर बाहिर निस्किएर परम्पराको अपमान गर्नु धार्मिक पाप हो। सामाजिक मर्यादामा बस्नुस।
– सरकार ! बिपत्तिमा केही त गर्नुस।
– मन्त्रीपरिषदले निशुल्क मिर्त्यु दर्ताको लागि बजेट ब्यवस्थापन गर्दै छ।
– कता कता स्वास्थ बिमा भन्या सुन्थे ,भोकले सुत्केरी र छोराछोरी मर्न थाले । २/४ किलो अन्न त दिनुस ।
-WHO ले भोकलाई रोग मान्दैन ।नेपाल who को स्थायी सदस्य हो। सामन्य ज्ञानको ख्याल गर्नुस ।
– कालिबाबाले भनेको मेरो आयु 75 बर्ष मात्रै छ रे ।
– के भो त ?
– कृपया ! मैले पाउने त्यो बृद्धभत्ता एकमुष्ट पाउने ब्यबस्था मिलाउनुस ।
– किन ?
– छोराछोरीका लागि रासन र लत्ताकपडा किनिदिएर म आत्महत्या गर्छु ।
– सरकार मृत्युदर घटाउन लागिपरेको छ ।। तपाईं प्रतिपक्षले जस्तो सरकारी कार्यको बिरोध नगर्नुस् ।आफ्नै पार्टीको सरकार छ भन्ने त हेक्का गर्नुस।
– भैगो सरकार!
काम गरेर ज्यान पालम्ला। सानोतिनो जागिर दिनुस।
– दुई बर्ष पछि लोकसेवा आयोगले नयाँ कर्मचारी माग्दै छ। परिवारका सदस्यलाई तयारी गर्दै गर्न भन्नुस ।
-अब एउटै विकल्प बाकी रयो ।
– के ?
– लु भन सरकार ! तलाई के मन पर्छ ? आशुमा चिप्लिएर पछारिन कि रगतमा चोपलिएर मर्न ?
-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्