नेपाल । थाई एयर एसियाले पुनः उडान सुरु गरेको छ । उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो ।
थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजिरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गरेका थिए ।
उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ ।
यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
यता, युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्